हेटौंडाः मकवानपुरमा रहेका लायन्स क्लबहरुको सहजीकरणमा लायन्सका सदस्य तथा गैरसदस्य चार सय सात जनाले आफ्नो मृत्यु पश्चात आँखाको नानी दान गर्ने ईच्छापत्रमा हस्ताक्षर गरेका छन् । आँखा दान गर्ने ईच्छापत्र बिहीबार विश्व दृष्टि दिवसको अवसरमा हेटौंडास्थित हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गरिएको छ ।
लायन्स क्लब ईन्टरनेसनल ३२५ बी २ का डिष्ट्रिक्ट गभर्नर शम्भु नकर्मी र एरिया चिफ अंकिता सुमार्गीले हेटौंडा सामुदायिक आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. होमबहादुर गुरुङलाई हस्तान्तरण गरिएको छ । आफ्नो मृत्यु पश्चात आँखाको नानी दृष्टिविहिनहरुका लागि प्रत्यारोपण गर्न आँखादान ईच्छापत्रमा हस्ताक्षर गरेर बुझाइएको डिष्ट्रिक्ट गभर्नर शम्भु नकर्मीले बताउनुभयो । विश्व दृष्टि दिवसको अवसरमा भव्य कार्यक्रम गरेर ठूलो सङ्ख्यामा सङ्कलित ईच्छापत्र हस्तान्तरण गर्ने योजना भए पनि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण अनौपचारिक रुपमा लायन्स अभियन्ताहरुको उपस्थितिमा ईच्छापत्र हस्तान्तरण गरिएको हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।
मकवानपुरमा हालसम्म दुई हजार भन्दा बढी सङ्ख्यामा मृत्यु पश्चात आँखाको नानी दान गर्ने ईच्छापत्र सङ्कलन भइसकेको श्रेष्ठले जानकारी दिनुभयो । २०७५ साल फागुनदेखि हेटौंडा सामुदायिक आँखा अस्पतालले आँखाको नानी सङ्कलन गर्न सुरु गरेको हो । हालसम्म १८ जनाको आँखाको नानी सङ्कलन गरिसकिएको श्रेष्ठले बताउनुभयो । अहिले कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण आँखाको नानी सङ्कलनको कार्य स्थगित रहेको बताइएको छ । हेटौंडामा सङ्कलन हुने आँखाको नानी हेटौंडा सामुदायिक आँखा अस्पतालले काठमाडौंस्थित तिलगङ्गा आँखा प्रतिष्ठानमा पठाउने गरेको छ ।