नेपाल विद्युत प्राधिकरणको विद्युत सेवा नपुगेका क्षेत्रमा गाउँपालिकाले गत वर्ष वितरण गरेको सौर्य उर्जा सेट पाएपछि खुसी भएकी एक महिला ।

मनहरीः नेपाल विद्युत प्राधिकरणले मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ९ मा विद्युतीकरणका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । केही समयअघि करिब १५ करोड रुपैयाँ लागत अनुमान गरेर नेपाल विद्युत प्राधिकरणको हेटौंडा वितरण केन्द्र हुँदै क्षेत्रीय कार्यालयमार्फत प्राधिकरणको केन्द्रीय कार्यालयमा प्रस्ताव पु¥याइएको थियो । प्राधिकरणले चालु आर्थिक वर्षका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरी विद्युतीकरणको कार्य गर्न कार्यादेश आएको नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिनुभएको छ ।

राक्सिराङको अतिविपन्न चेपाङ समुदायका लागि लक्षित गरेर त्यही (मकवानपुर क्षेत्र नं. २) क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेता विरोध खतिवडाले आफ्नो पहलमा प्राधिकरणले बजेट विनियोजन गरेको दावी गर्नुभएको छ । नेता खतिवडाले हेटौंडा वितरण केन्द्र हुँदै नेपाल विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालयबाट प्रस्ताव केन्द्रीय कार्यालय पुर्‍याएर बजेट विनियोजन गराएको बताउनुभएको छ । चेपाङलाई उज्यालो कार्यक्रम तयार पारेर राक्सिराङ गाउँपालिकालाई पूर्ण रुपमा विद्युतीकरणका लागि १५ करोड लाग्ने अनुमान भएपनि अर्काे बर्ष समेत बजेट हाल्ने गरी हाललाई नेपाल विद्युत प्राधिकरणले ६ करोड रुपैयाँ कार्यान्वयनका लागि हेटौंडा वितरण केन्द्रमा अख्तियारी पत्र पठाएको खतिवडाले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयबाट प्राप्त अख्तियारीअनुसार छिट्टै टेण्डरको प्रक्रियामा जाने नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले बताउनुभएको छ । उहाँका अनुसार आवश्यक सहयोगका लागि राक्सिराङ गाउँपालिकालाई पत्र समेत पठाइसकिएको छ । नयाँ लाइन विस्तारका साथै पुराना काठका पोल फेर्ने कार्य पनि हुने ठाकुरको भनाइ छ ।

राक्सिराङ गाउँपालिकाको वडा नम्बर ४, ६, ७ र ९ मा ११ केभी विद्युत जडान गर्ने र विस्तार गर्ने कार्य उल्लेख छ । यसका लागि १५ वटा ट्रान्सफर्मर लाग्ने अनुमान गरेको प्राधिकरणले ९ मिटरका ३ हजार ५ सय र ८ मिटरका ५ हजार विद्युत पोल लाग्ने उल्लेख रहेको थियो । तर १५ करोड प्राप्त नभएकाले अब ६ करोडको छुट्टै इस्टिमेट बनाएर ठेक्का प्रक्रिया अघि बढ्ने प्राधिकरण हेटौंडा वितरण केन्द्रले जनाएको छ ।