सांकेतिक चित्रः गुगल ।

हेटौंडाः एकजना वृद्धको ज्यान जाने गरी मोटरसाइकलले ठक्कर दिएर फरार भएका मोटरसाइकल चालक आज प्रहरीको सम्पर्कमा आएका छन् । हिजो साँझ साढे ७ बजेको समयमा हेटौंडा–२, चौकीटोलमा ७६ वर्षीय वृद्ध पूर्णलाल श्रेष्ठलाई ठक्कर दिएका हेटौंडा–९, लामसुरेका २६ वर्षीय शिवराज गौतम आज प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।

हिजो साँझ भीमफेदी गाउँपालिकाको भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको ना ६४ प ५३०६ नम्बरको एफजेडएस मोटरसाइकलले ठक्कर दिँदा हेटौंडा–२ का पूर्णलाल श्रेष्ठको मृत्यु भएको थियो । आज बिहान ११ बजेको समयमा प्रहरी चौकी चौघडामा सम्पर्कमा आएका गौतमलाई प्रहरीले हिरासतमा राखेको छ ।