हेटौंडाः परशुराम स्मृति प्रतिष्ठान र मकवानपुर जिल्ला फुटबल संघले आजदेखि हेटौंडामा निशूल्क खाना खुवाउन सुरु गरेको छ । लकडाउन र निषेधाज्ञाका कारण आम्दानी नभई दैनिक गुजारा गर्न समस्या भएकाहरुलाई निशुल्क खानाको व्यवस्था गरेको हो ।

हेटौंडाको हुप्रचौरमा निशुल्क खाना खुवाउन सुरु गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिनुभएको छ । अध्यक्ष लामाका अनुसार बिहान १० बजेबाट दिउँसो २ बजेसम्म हुप्रचौर परिसरमा खाना खुवाइने छ । परशुराम स्मृति प्रतिष्ठानका सन्तोष गौतमले बुबाको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले दुःखमा परेकाहरुका लागि सहयोग गर्न लागेको बताउनुभयो ।