हेटौँडा : बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सारिएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्न लागेको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सारिएको हो ।
परिषद्को पूर्व निर्धारित कार्यक्रम अनुसार जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने भनिएको थियो । परिषद्ले विद्याथीहरुको परीक्षाको कारण प्रतियोगिता सारेको जनाएको छ । परिषद्का सदस्य सचिव दीपक लामाका अनुसार प्रतियोगिताको मिति जेठ १३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने गरी तयारी गरिएको छ ।
प्रतियोगितामा सहभागी हुने विद्यार्थीको वार्षिक परीक्षाको कारण साविकको मितिमा प्रतियोगिता सञ्चालन गर्न असहज हुने देखिएकाले मिति परिवर्तन गरिएको उनले बताए । परिषद्ले जिल्ला छनोटबाट आएका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई नयाँ तय गरिएको मितिमा सहभागी हुन र सोही अनुसार तयारी अवस्थामा रहन उनले आग्रह गरे ।
प्रतियोगिता मकवानपुर र काठमाडौंमा सञ्चालन हुने उनले बताए । परिषद्ले १३ वटै जिल्ला खेलकुद विकास समितिलाई सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलहरूको विवरण यथाशीघ्र परिषद्मा पठाइदिन समेत उनले निर्देशन दिएका छन् ।
