Home मुख्य समाचार सिन्धुली र चितवनमा एकैदिन ३ जनाको मृत्यु

सिन्धुली र चितवनमा एकैदिन ३ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : प्रदेशको सिन्धुली र चितवन जिल्लामा एकैदिन छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । चितवनमा दुई जना र सिन्धुलीमा एक जना गरी तीनजनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका–४, पाखाभित्तामा चट्याङ लागेर एक जना वृद्धको मृत्यु भएको छ । शनिबार राती वर्षासँगै परेको चट्याङ लागेर स्थानीय ७० वर्षीय पूर्णबहादुर बुढाथोकी घाइते भएका थिए । उपचारका लागि सिर्थौली नगर अस्पताल लगिएकोमा डाक्टरले बु्ढाथोकीलाई राती १० बजेर ५० मिनेटको समयमा मृत्त घोषण गरेको हो ।

चितवनको राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा ट्रिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा शुक्रबार खैरहनीदेखि भण्डारातर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ११९७ नम्बरको ट्रिपरको ठक्करबाट बाटो काट्ने क्रममा राप्ती नगरपालिका–१, परेवाकोटका ८ वर्षीय इसाक प्रजा गम्भिर घाइते भएका थिए । प्रजाको उपचारको क्रममा पुष्पाञ्जली अस्पताल भरतपुरमा शनिबार बिहान ४ बजेर २१ मिनेटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारपश्चात घाइतेलाई पुष्पाञ्जली अस्पताल लगिएको थियो । ट्रिपर र ट्रिपर चालक राप्ती नगरपालिका–६, भण्डाराका ३० वर्षीय सञ्जय मोक्तान प्रहरीको नियन्त्रणमा रहेको छ ।

यस्तै, चितवनकै रत्ननगर नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । रत्ननगर–१ स्थित भित्री सडक खण्डमा टाँडीबाट भट्टचोकतर्फ जाँदै गरेको ग ८ प २००८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री रत्ननगर–१४ की ७५ वर्षीय कृष्णमाया मगर गम्भिर घाइते भएकी थिइन् । स्थानीय बकुलहर अस्पताल टाँडीमा उपचारको क्रममा राती ७ बजेर २२ मिनेटको समयमा डाक्टरले मगरलाई मृत्त घोषणा गरेको हो । मोटरसाइकल र चालक रत्ननगर–१५ बस्ने ४५ वर्षीय सगुन पण्डित प्रहरीको नियन्त्रणमा रहेको छ ।

Exit mobile version