Home मुख्य समाचार थाहा नगरपालिकाको १९ विद्यालयमा महिला प्रधानाध्यापक

थाहा नगरपालिकाको १९ विद्यालयमा महिला प्रधानाध्यापक

सुमिना चौलागाई
हेटौँडा : मकवानपुरको थाहा नगरपालिकाका विद्यालयको नेतृत्वमा महिलाको सहभागिता क्रमशः बढिरहेको देखिन्छ । विद्यालयहरुमा महिला शिक्षकको संख्या बढ्दै जाँदा ग्रामीण तथा विकट क्षेत्रमा समेत महिलाले प्रधानाध्यापक (प्रअ) को जिम्मेवारी सम्हाल्नुलाई सकारात्मक परिवर्तन मान्नुपर्छ ।

धेरै विद्यालयमा अझै पनि शिक्षक दरबन्दी, भवन अभाव, खेलमैदान, डेक्सबेन्च तथा शैक्षिक सामग्रीको कमीजस्ता समस्या रहेका छन् । पालिकाभित्र रहेका ५३ वटा सामुदायिक विद्यालयतर्फ २ मावि, एक निमावि, ११ वटा प्राविमा र ३ वटा बाल कक्षामा महिला प्रधानाध्यापक रहनुभएको छ । यस्तै, ११ वटा संस्थागत विद्यालय रहेकोमा एक मावि, एक आवि र एक बाल कक्षा महिला प्रधानाध्यापकहरुले संचालन गरिरहनुभएको छ । शिक्षा शाखा अधिकृत माधव विक्रम मल्लका अनुसार पालिकाभित्र रहेका सामुदायिक र संस्थागत गरी ६४ वटा विद्यालयमध्ये १९ वटा विद्यालयहरु महिला नेतृत्वमा सञ्चालन हुँदै आएका छन् ।

थाहा नगरपालिका–५, तसरमा रहेको दुर्गादेवी माध्यमिक विद्यालयको प्रधानाध्यापकमा कल्पना रावल रहनुभएको छ । एक वर्षदेखि शिक्षण पेशामा आबद्ध रावल ५ महिनादेखि विद्यालयमा प्रअको जिम्मेवारी सम्हालिरहेको बताउनुहुन्छ । गत वर्षदेखि ९ र यस वर्षदेखि १० कक्षा सञ्चालन भएको विद्यालयमा शिक्षक दरबन्दी कम भएको उहाँ बताउनुहुन्छ । विद्यालयमा संघीय अनुदानको दुईजना मावि शिक्षक र दुई जना निमावि शिक्षक रहनुभएको छ । बाँकी प्रावि तहका शिक्षकहरूले मावि तहमा पठनपाठन गराउनुपर्ने अवस्था रहेको प्रअ रावलले बताउनुभयो ।

चालु शैक्षिक सत्रमा आइतबार पनि पठनपाठन बन्द भएका कारण विद्यार्थीलाई कोर्स सकाउन गाह्रो पर्ने उहाँले बताउनुभएको छ । वर्षे बिदा कट्टा गराएर पठनपाठन गराउने सरकारको निर्णयले विद्यालयलाई र विद्यार्थीलाई असर गर्ने उहाँको भनाइ छ । भौगोलिक विकटताका कारण वर्षाका समयमा विद्यार्थी विद्यालय आउन सक्ने अवस्था नहुने कारण वर्षे बिदा कटौती गर्दा विद्यार्थी संख्या कम हुन जाने उहाँले बताउनुभयो । विद्यालयमा भवनको पनि आवश्यकता रहेको उहाँको भनाइ छ ।

थाहा नगरपालिका–२, पालुङस्थित पालुङ अंग्रेजी आवासीय माध्यमिक विद्यालयको प्रधानाध्यापक जुनु उप्रेती हुनुहुन्छ । उहाँले २०७६ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । १७ वर्षदेखि शिक्षण पेशामा आबद्ध उप्रेतीले २ वर्षमात्रै सामुदायिक विद्यालयमा अध्यापन गराउनुभएको थियो । महिला प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहँदा समाजबाट के गर्न सक्छ र भन्ने जस्ता कुराहरु धेरै आएको उहाँको भनाइ छ । संस्थागत विद्यालयलाई पालिकाले खासै वास्ता नगर्ने र तालिम कार्यक्रमका लागि आएका सूचनाहरू पनि विद्यालयसम्म प्राप्त नहुने गरेको बताउनुहुन्छ ।

१० कक्षासम्म पठनपाठन हुने विद्यालयमा यस वर्ष २७५ जना विद्यार्थी भर्ना भएका छन् । २०८२ सालमा २८० जना विद्यार्थी भर्ना भएका थिए । २०८२ सालको एसईईमा सात जना विद्यार्थी सहभागी भएका छन् । यस वर्ष १० कक्षामा १० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयलाई हाल डेक्सबेन्च र खेलकुदको लागि चौरको आवश्यकता भएको उहाँ बताउनुहुन्छ ।

थाहा नगरपालिका–६, थाहाचोकस्थित बज्रबाराही माध्यमिक विद्यालयको निमित्त प्रअमा सञ्जिता पाठक रहनुभएको छ । सहायक प्रधानाध्यापकको जिम्मेवारी समाल्दै आउनुभएकी पाठक चैत १९ गतेबाट प्रअमा नियुक्त हुनुभएको होे । २०७२ सालमा स्थायी शिक्षक नियुक्त हुनुभएको पाठक २०७९ सालदेखि बज्रवाराही माविमा अध्यापन गर्दै आउनुभएको थियो । उहाँले २०८० सालदेखि बज्रबाराही माविमा सहायक प्रअको जिम्मेवारी समाल्नुभएको थियो । प्रअ पाठकका अनुसार आगामी दिनमा पाठ्यक्रम एकीकृत गर्ने र विद्यार्थी अनुशासन कायम राख्ने बताउनु हुन्छ ।

विद्यालयले अंग्रेजी माध्यमलाई व्यवस्थापन गर्ने (ग्रेड टिचिङ्ग), एकीकृत पाठ्क्रम, परीक्षा अघि ७० प्रतिशत हाजिर अनिवार्य गराउने, अभिभावकलाई अभिमुखीकरण सञ्चालन गर्ने, सिसिटिभी क्यामरा जडान गर्नेलगायतका योजना रहेको बताउनुभयो । अभिभावकलाई बोलाएर महिनामा एक पटक विद्यार्थीको पढाई, नतिजालगायतका बारेमा जानकारी गराउने र विद्यार्थी र विद्यालयप्रति चासो जगाउन अभिमुखीकरण गर्ने उहाँको भनाइ छ ।

१२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा यस शैक्षिक सत्रमा हालसम्म ३५० जना विद्यार्थी भर्ना भएका छन् । २०८२ सालको एसईईमा विद्यालयबाट ३८ जना विद्यार्थी सहभागी भएका छन् । यस्तै २०८१ सालको एसईईमा ६५ प्रतिशत नतिजा हासिल गर्दै विद्यालय नगर प्रथम भएको थियो । विद्यालयमा शिक्षक दरबन्दी राम्रै रहेको छ । विद्यायलमा मावितर्फ ६ जना र निमावि तर्फ ५ जना (स्थायी ३ र राहत २) जना शिक्षक दरवन्दी रहेको प्रअ पाठकले बताउनुभयो ।

नगरपालिकाका विभिन्न वडामा रहेका अन्य प्राथमिक तथा आधारभूत विद्यालयहरू पनि महिला नेतृत्वमा सञ्चालन भइरहेका छन् । थाहा नगरपालिका–१, खानीगाउँको कालीदेवी प्राथमिक विद्यालयमा कल्पना सिंह ठकुरी र टाहाखेलको पञ्चकन्या प्राथमिक विद्यालयमा संगीता रुम्बा प्रधानाध्यापक रहनुभएको छ । त्यस्तै, वडा नम्बर २ फाटबजारको दीपज्योति इङ्लिस बोर्डिङ स्कुलमा सन्जिता बस्नेत, पालुङ अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा जुनु उप्रेती र भाङखोरियास्थित मङ्गलेश्वर प्राथमिक विद्यालयमा लक्ष्मी रहनुभएको छ ।

थाहा–३, शिखरकोटमा रहेको माइलस्टोन मन्टेश्वरी प्रि–स्कुल रुना खत्री र सेतीगणेश आधारभूत विद्यालय उर्मिला गोपालीले विद्यालय सञ्चालन गर्नुभएको छ । यसैगरी, थाहा–४ मा रहेको रुप्सेको महाङ्काल प्राथमिक विद्यालयमा सस्मिता बल, ठूलो मार्खुको बालकुमारी प्राथमिक विद्यालयमा कोपिला भेटवाल, दामनस्थित ऋषेश्वर प्राथमिक विद्यालयमा ममता थिङ, वडा नम्बर–५, ठूलो फाखेलको कल्याण प्राथमिक विद्यालयमा सुजाता थिङले विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी वहन गर्दै आउनुभएको छ ।

थाहा–६, पालुङको गणेश प्राथमिक विद्यालयमा मनदेवी बलामी, बुढीचौरको उदय प्राथमिक विद्यालयमा तुलसा न्यौपाने, थाहा–८, बाहुनगाउँस्थित काला गणेश प्राथमिक विद्यालयमा गीता सापकोटा, थाहा–९, कखुवीर्तास्थित जलदेवी प्राथमिक विद्यालयमा प्रतिमा लामिछाने, टोटासीस्थित महालक्ष्मी प्राथमिक विद्यालय उषा श्रेष्ठ, थाहा–११, नागछेडास्थित जनता प्राथमिक विद्यालयमा लक्ष्मी धामी, दोभान खोलास्थित टिस्टुङ देउराली प्राथमिक विद्यालयमा सुन्नती माया बलको नेतृत्वमा शैक्षिक गतिविधि सञ्चालन भइरहेको छ ।

Exit mobile version