Home मुख्य समाचार कक्षा १२ को वार्षिक परीक्षा आज सकिँदै

कक्षा १२ को वार्षिक परीक्षा आज सकिँदै

हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा परीक्षा दिँदै विद्यार्थी । फाइल तस्वीर ।

हेटौंडा : कक्षा १२ को वार्षिक परीक्षा आज आइतबारबाट सकिँदैछ । मकवानपुर जिल्लामा १५ वटा परीक्षा केन्द्र निर्धारण गरिएकोमा थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पस र बकैया गाउँपालिकाको महेन्द्र मावि छतिवनसहित हेटौंडा उपमहानगरपालिकामा १३ वटा परीक्षा केन्द्रहरु सञ्चालन भएको थियो ।

मकवानपुरबाट कक्षा १२ को परीक्षामा सहभागी हुन ५ हजार २ सय ६९ जना विद्यार्थीले फारम भरेका थिए । कुलमध्ये नियमिततर्फ ३ हजार ८ सय २२ र आंशिकतर्फ १ हजार ४ सय ४७ जनाले परीक्षा फारम भरेका थिए । राष्ट्रिय परीक्षा बोर्डको हेटौँडा शाखा कार्यालयका प्रमुख बद्री बहादुर पाठकका अनुसार मकवानपुरसहित चितवन, बारा, पर्सा र रौतहट जिल्लामा १ सय २४ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । साविक नारायणी अञ्चलका यी ५ जिल्लाबाट परीक्षामा सहभागी हुन ४० हजार ८०४ विद्यार्थीले परीक्षा फारम भरेका थिए । जसमा नियमिततर्फ ३१ हजार ७८४ र आंशिकतर्फ ९ हजार २० विद्यार्थी रहेका छन् । गएको वर्षको तुलनामा यस वर्ष विद्यार्थी संख्या घटेको राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयका प्रमुख बद्रीबहादुर पाठकले जानकारी दिनुभयो ।

१२ कक्षाको परीक्षामा देशभरका ५ हजार ३ सय ३९ विद्यालयबाट नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ परीक्षा फारम भरेका थिए । जसमा छात्र १ लाख ७२ हजार १२, छात्रा १ लाख ६० हजार १ सय ३७ र अन्य २९ जना रहेका थिए । यस्तै आंशिकतर्फ ८५ हजार ८३० गरी ४ लाख १८ हजार ८ जना विद्यार्थीले परीक्षा फारम भरेका थिए । सबैभन्दा कम मनाङ जिल्लाबाट ३१ जना र सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६४ हजार ३ सय ३८ विद्यार्थीले परीक्षा फारम भरेका थिए । नेपालभर जम्मा १ हजार ४ सय २० र जापानमा १ समेत गरी कूल १ हजार ४ सय २१ परीक्षा केन्द्रहरू निर्धारण गरिएकोमा नेपालमा सबैभन्दा बढी काठमाडौं जिल्लामा १ सय ६१ वटा र सबैभन्दा कम मनाङ/मुस्ताङ जिल्लामा १/१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।

Exit mobile version