हेटौँडाको अत्यन्त संवेदनशील र जनचासोको विषय बनेको हुप्रचौर पछिल्ला दिनमा पुनः बहसको केन्द्रमा आएको छ । स्थानीय सरकारले हुप्रचौर क्षेत्रमा स्थायी संरचना निर्माणका लागि प्रतिक्षालय बनाउने कार्य अघि बढाएपछि स्थानीयवासीले यसको विरोधमा आवाज उठाइरहेका छन् । यस विषयमा हस्ताक्षर अभियानसमेत सञ्चालन भइसकेको छ । यो विवाद केवल एउटा निर्माण योजनाको विषय मात्र नभई, यो हेटौँडाको भविष्य, सार्वजनिक सम्पत्तिको उपयोग, सहरी व्यवस्थापन र नागरिक अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको प्रश्न हो ।
हुप्रचौर केवल एउटा खाली जमिन होइन, यो हेटौंडाको मुटु हो । शहरको बीचभागमा रहेको यस्तो खुला क्षेत्र हेटौंडावासीको साझा सम्पत्ति हो, जहाँ बिहान बेलुका मानिसहरू स्वास्थ्यका लागि हिँड्न आउँछन्, दौडिन्छन्, बालबालिकाहरू खेल्छन्, युवाहरू खेलकुद गर्छन् र ज्येष्ठ नागरिकहरू भेटघाट तथा विश्राम गर्छन् । आजको व्यस्त र तनावपूर्ण जीवनमा यस्ता खुला स्थानको महत्व झन् बढेको छ । मानिसहरू मानसिक तनाव, प्रदूषण, अव्यवस्थित जीवनशैली र सीमित सामाजिक सम्पर्कबाट प्रभावित भइरहेका बेला खुला तथा हरियालीयुक्त स्थान विलासिता होइन, आवश्यकता बनेको छ ।
विश्वका विकसित शहरहरूले सार्वजनिक खुला क्षेत्रको महत्व धेरै पहिल्यै बुझेका छन् । अमेरिकाको सेन्ट्रल पार्क केवल एउटा बगैँचा होइन, त्यो लाखौँ नागरिकको स्वास्थ्य, मनोरञ्जन र सामाजिक सम्बन्धको केन्द्र हो । बेलायतको हाइड पार्क ऐतिहासिक, सामाजिक र साँस्कृतिक जीवनको अभिन्न हिस्सा हो । जापानको हिरोसिमा पिस मेमोरियल पार्क युद्धको पीडा सम्झाउने मात्र होइन, शान्ति, ध्यान, आत्मचिन्तन र मानवताको सन्देश दिने स्थलका रूपमा विकास गरिएको छ ।
यस्तै, गार्डेन वाइ द बे सिंगापुरले अत्यधिक सहरीकरणका बीच पनि हरियालीलाई कसरी आधुनिक शहरको केन्द्रमा राख्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । उनो पार्क जापानमा नागरिकहरूलाई विश्राम, साँस्कृतिक गतिविधि र पारिवारिक समय बिताउने स्थानका रूपमा स्थापित छ । दक्षिण कोरियाको छेङ्गएचेन क्षेत्रमा पुरानो सडक हटाएर खोल्सो, हरियाली र पैदलमैत्री सार्वजनिक स्थान निर्माण गरिएको थियो, जसले शहरको वातावरण, तापक्रम र नागरिकको जीवनस्तर सुधार ग¥यो ।
आज विश्वका धेरै शहरहरू कंक्रिटको अत्यधिक विस्तारबाट थाकिसकेका छन् । त्यसैले अहिलेको प्रवृत्ति खुला क्षेत्रको संरक्षण, वृक्षरोपण, शान्त क्षेत्र निर्माण र नागरिकमैत्री सहरी योजनातर्फ फर्किएको छ । यस्तो समयमा हेटौँडाको केन्द्रभागमा रहेको खुला क्षेत्रलाई स्थायी संरचनाले क्रमशः ढाक्दै जानु दूरदृष्टिविहीन निर्णय देखिन्छ ।
समस्या केवल अहिले बन्न लागेको प्रतिक्षालय मात्र होइन । हुप्रचौरबारे कहिले सटर बनाउने, कहिले अर्को संरचना बनाउने, कहिले अन्य व्यावसायिक वा संस्थागत योजना ल्याउने कुरा सार्वजनिक रूपमा सुनिँदै आएको छ । यसले नागरिकमा स्वाभाविक प्रश्न जन्माएको छ खुला क्षेत्रलाई किन विस्तारै अतिक्रमण गरिँदैछ ? आज एउटा प्रतीक्षालय बन्यो भने भोलि कसैले बालमैत्री संरचना माग्नेछ, अर्कोले पार्किङको माग गर्नेछ, अर्कोले व्यापारिक उपयोगको प्रस्ताव ल्याउनेछ । एकपटक स्थायी संरचनाको ढोका खोलियो भने खुला स्थानको मौलिक स्वरूप समाप्त हुन्छ ।
हुप्रचौरमा स्थायी संरचना बन्न नहुने अर्को महत्वपूर्ण कारण विपद् व्यवस्थापन हो । नेपाल भूकम्पीय जोखिमयुक्त देश हो । भोलि ठूलो भूकम्प वा अन्य विपद् आयो भने बजार क्षेत्रका हजारौँ मानिस कहाँ जम्मा हुने ? आपत्कालीन अवस्थाका लागि शहरभित्र खुला स्थान अत्यावश्यक हुन्छ । त्यसैले यस्ता क्षेत्र केवल खेलकुद वा मनोरञ्जनका लागि मात्र होइनन्, यी नागरिक सुरक्षाका आधार पनि हुन् ।
यस सन्दर्भमा हुप्रचौरलाई शान्ति उद्यानका रूपमा विकास गर्नु अत्यन्त उपयुक्त विकल्प हुन सक्छ । शान्ति उद्यान किन आवश्यक छ भन्ने प्रश्नको उत्तर आजको सामाजिक अवस्थाले नै दिन्छ । आज मानिसहरू अत्यधिक तनाव, मानसिक थकान, सामाजिक एक्लोपन र स्वास्थ्य समस्याबाट जुधिरहेका छन् । शहरमा मानिससँग भवन धेरै छन्, तर शान्त भएर बस्ने स्थान कम छन् । यस्तो अवस्थामा शान्ति उद्यानले मानिसलाई प्रकृतिसँग जोड्ने, ध्यान गर्ने, आत्मचिन्तन गर्ने, परिवारसँग समय बिताउने र मानसिक सन्तुलन कायम राख्ने अवसर दिन्छ ।
शान्ति उद्यान केवल सौन्दर्यको विषय होइन, यो सामाजिक स्वास्थ्यसँग सम्बन्धित अवधारणा हो । यस्तो स्थानमा हरियाली, फूलबारी, पानीको उचित व्यवस्थापन, ध्यानस्थल, योग क्षेत्र, विश्रामस्थल, बालबालिका र ज्येष्ठ नागरिकका लागि खुला क्षेत्र लागि व्यवस्था हुन सक्छ । यसले नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।
हुप्रचौरलाई यदि साँच्चै विकास गर्ने हो भने त्यहाँ स्थायी भवन होइन, घाँस रोप्ने, धुलो नियन्त्रण गर्ने, नियमित पानी हाल्ने, वृक्षरोपण गर्ने, पैदलमार्ग बनाउने, खुला व्यायाम क्षेत्र बनाउने, योग तथा ध्यानका लागि क्षेत्र छुट्याउने, बालबालिका र ज्येष्ठ नागरिकमैत्री वातावरण निर्माण गर्ने योजना ल्याइनुपर्छ । यसरी हुप्रचौरलाई हेटौंडाको स्वास्थ्य केन्द्र, सामाजिक अन्तरक्रिया स्थल र शान्त क्षेत्रका रूपमा विकास गर्न सकिन्छ ।
अर्को गम्भीर प्रश्न सार्वजनिक योजना निर्माणसँग सम्बन्धित छ । यदि सभाहलका लागि छुट्टै जग्गा उपलब्ध गराइएको थियो भने हुप्रचौर किन प्रयोग गरियो ? किन यहाँ संरचना बनाइयो ? किन फेरि भत्काइयो ? किन भ्यू टावर बनाउने भनियो ? स्पष्ट दीर्घकालीन योजना बिना सार्वजनिक सम्पत्तिमाथि बारम्बार प्रयोगशाला जस्तो व्यवहार किन गरिन्छ ? यस्ता निर्णयले संस्थागत विश्वसनीयता कमजोर बनाउँछन् ।
हामी विकासविरोधी होइनौँ । विकास आवश्यक छ । तर विकासको नाममा शहरका सीमित खुला क्षेत्र मास्नु विकास होइन । विकास भनेको खुला क्षेत्रलाई अझ व्यवस्थित, हरियालीयुक्त, सुन्दर र जनमैत्री बनाउनु हो । हुप्रचौरलाई उपेक्षित छोड्ने होइन, संरक्षण गर्दै सशक्त बनाउने हो । यसलाई खुला, हरियालीयुक्त, शान्त र सबै नागरिकका लागि उपयोगी सार्वजनिक स्थानका रूपमा जोगाउनु नै हेटौँडाको दीर्घकालीन हितमा छ । हुप्रचौर हेटौंडाको मुटु हो । मुटुमाथि कंक्रिट थपेर शहर स्वस्थ हुँदैन । त्यसैले स्थानीय सरकार र प्रदेश सरकारसँग आग्रह छ हुप्रचौरमाथि स्थायी संरचना निर्माणको योजना पुनर्विचार गरियोस् । नागरिकको आवाज सुनियोस् । हुप्रचौर जोगाइयोस् र भावी पुस्ताका लागि खुला राखियोस् । आज खुला स्थान जोगाउन सकिएन भने, भोलि शहरसँग भवन त हुनेछ, तर सास फेर्ने ठाउँ हुनेछैन ।
यस विषयमा सार्वजनिक रूपमा चासो र चिन्ता व्यक्त हुन थालेपछि धेरै स्थानीय अग्रज, दाजुभाइ–दिदीबहिनी तथा सरोकारवालाहरूले हुप्रचौरको भविष्यबारे आफ्नो धारणा राख्नुभएको थियो । स्थानीयवासीहरूको आग्रह र अनुरोधपछि मैले पनि यस विषयलाई गम्भीर रूपमा उठाउने प्रयास गरेको हुँ । यस क्रममा मसँगै सागर लामिछाने, सफल दुत्तराज, कमल मैनाली, दप्पक खडका लगायतको टोलीले हुप्रचौरको दीर्घकालीन संरक्षण, सार्वजनिक हित र खुला क्षेत्रको महत्वलाई केन्द्रमा राखेर खबरदारी गर्ने पहल गरेका थियौं । नागरिकको आवाज, सामूहिक दबाब र सार्वजनिक बहसको प्रभावस्वरूप हालका लागि हुप्रचौरमा प्रस्तावित स्थायी संरचना निर्माणको काम रोकिएको खबर सकारात्मक संकेतका रूपमा लिन सकिन्छ । यसले जनचासोका विषयमा नागरिकको सक्रियता, खबरदारी र सामूहिक पहलले परिणाम दिन सक्छ भन्ने सन्देश दिएको छ ।
हाम्रो स्पष्ट धारणा विकास रोक्ने होइन, विकासलाई सही दिशामा लैजाने हो । हुप्रचौरजस्तो खुला क्षेत्रको मौलिक स्वरूप नबिगार्ने गरी आवश्यकता अनुसार अस्थायी तथा व्यवस्थापकीय प्रकृतिका सुविधा वा संरचनाहरू निर्माण गरिनु आपत्तिजनक विषय होइन; तर स्थायी कंक्रिट संरचनामार्फत खुला क्षेत्रको चरित्र नै परिवर्तन गर्ने प्रयास भने दीर्घकालीन रूपमा उपयुक्त हुँदैन । त्यसैले अबको बहस केवल संरचना बनाउने वा नबनाउनेमा सीमित नरही, हुप्रचौरलाई कसरी अझ व्यवस्थित, हरियालीयुक्त, उपयोगी र नागरिकमैत्री सार्वजनिकस्थलका रूपमा विकास गर्ने भन्ने दिशामा केन्द्रित हुन आवश्यक छ ।
