Home खेलकुद चित्लाङ एफसीलाई आठौं बागमती गोल्डकपको उपाधि

चित्लाङ एफसीलाई आठौं बागमती गोल्डकपको उपाधि

उपाधि साथ चित्लाङ एफसीको टिम ।

हेटौँडा : चित्लाङ एफसी, काठमाडौंले आठौँ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सहिद स्मृति रंगशाला झुरझुरे खेलमैदानमा भएको फाइनलमा सर्लाहीको बागमती युथ क्लबलाई ४–० गोलअन्तरले हराउँदै चित्लाङले उपाधि हात पारेको हो ।

चित्लाङका लागि एरोन थापाले खेलको दोस्रो मिनेटमा, विदेशी खेलाडी सोलोमन किङले १७ औं र ४८ औं मिनेटमा गोल गरे । अर्को एक गोल समीर तामाङले खेलको ७७ औं मिनेटमा गरे । समीर प्लेयर अफ दि म्याच घोषित भए । विजेता चित्लाङले १० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बागमतीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । विजेता र उपविजेतालाई बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान र प्रतियोगिताका संयोजक रहर सिं थिङ लगायतले पुरस्कार प्रदान गरे ।

उपाधि विजेता चित्लाङ एफसीले पहिलो खेलमा एपीएफलाई हराउँदै क्वाटरफाइनल, मछिन्द्रलाई हराउँदै सेमीफाइनल र नवजनजागृति युवा क्लब सिमरालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । उपविजेता बागमती युवा क्लबले भने पहिलो खेलमा आयोजक बागमती खेलकुद विकास समितिलाई हराउँदै क्वाटरफाइनल, चर्च ब्वाइज युनाइटेडलाई हराउँदै सेमीफाइनल र फ्रेन्ड्स क्लब काठमाडौंलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चित्लाङ एफसीका लक्ष्मण थापा घोषित भए । उनले १ लाख १ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक चित्लाङका प्रिसो, उत्कृष्ट डिफेन्डर बागमतीका आयुष मगर, उत्कृष्ट मिडफिल्डर बागमतीकै अनिष महर्जन, उत्कृष्ट फरवार्ड चित्लाङका एरोन थापा र उत्कृष्ट प्रशिक्षक सुमन श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले जनही २५–२५ हजार रुपैयाँ प्राप्त गरे । बागमती गाउँपालिका मकवानपुरको प्रायोजनमा बागमती खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो ।

Exit mobile version