हेटौँडाः मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लब र बाराको नव जनजागृति युवा फुटबल क्लब भिड्दैछ । खेल दिउँसो ३:३० बजेदेखि बागमती–४ स्थित सहिद स्मृति रङ्शालामा हुनेछ । आजको विजेता टोलीले फाइनलमा शनिबार सर्लाहीको बागमती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
मंगलबार भएको समूह चरणको खेलमा साविक उपविजेता मछिन्द्र एफसिलाई १–० गोलले हराए चित्लाङ एफसिल सेमिफाइनलमा प्रवेश गरेको थियो भने शुक्रबार खेलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै जनजागृति सेमिफाइनल प्रवेश गरेको थियो ।
बागमती खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।











