प्रधानाध्यापकहरुसँग अन्तरक्रिया पश्चात खिचिएको सामुहिक तस्वीर ।

हेटौँडा : शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मकवानपुरको बकैया गाउँपालिकाका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेको छ । मंगलबार बकैयाको बुद्ध माविमा गाउँपालिकाभित्रका विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा इकाईका प्रमुख सुदीप गिरीले शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी शिक्षा ऐन २०२८ को छैंठौं संशोधनपश्चात भएका व्यवस्थाबारे सहजीकरण गर्नुभएको थियो । उहाँले अधिकांश प्रधानाध्याकहरुले प्रशासकीय जिम्मेवारीमा प्राविधिक त्रुटी गर्दा कार्यसम्पादन मूल्याङ्कन प्रक्रिया नै प्रभावित हुने गरेको बताउनुभयो । अघिल्लो शैक्षिक सत्र २०८२ को कार्यसम्पादन मूल्याङ्कनमा हुनसक्ने प्रशासकीय त्रुटीहरुबारे उहाँले प्रधानाध्यापकहरुलाई जानकारी दिनुभएको थियो ।

इकाईकी सूचना अधिकारी उन्नति ढकालले निःशुल्क शिक्षा कार्यविधिसम्बन्धी व्यवस्थाबारे सहजीकरण गर्नुभएको थियो । नयाँ शैक्षिक सत्रको सुरुवातमा प्रधानाध्यापकहरुलाई प्रशासनिक कार्यहरुमा सहजीकरण गरी त्रुटी हुने सम्भावना न्यून गर्ने प्रयास गरेको उहाँको भनाइ छ । कार्यक्रममा विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न अभिभावकीय शिक्षासमेत आवश्यकता परेको प्रधानाध्यापकहरुले गुनासो गरेका छन् । अन्तरक्रियामा बकैया गाँउपालिकाको शिक्षा शाखाका प्रतिनिधिका साथै पालिकामा रहेका प्राथमिक तथा माध्यमिक विद्यालयका ७६ जना प्रधानाध्यापकमध्ये ६७ जनाको सहभागिता रहेको थियो ।