हेटौँडा : हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको ४ कोठे भवन निर्माण सुरु गरिएको छ । सोमबार विद्यालय भवन निर्माण कार्यको शिलान्यास गरिएको हो ।
राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ६० लाख रुपैयाँ बजेटमा भवन निर्माण हुन लागेको विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभयो । ४ कोठा रहने २ तले उक्त भवन असार मसान्तसम्म निर्माण सकिने प्रधानाध्यापक पराजुलीले बताउनुभयो । हाल विद्यालयमा ३० वटा कक्षाकोठा रहेकोमा अपुग भएकोले थप कक्षाकोठा निर्माण गर्न लागेको पराजुलीले बताउनुभयो । प्रगति माविमा १२ कक्षासम्म पठनपाठन हुन्छ । शैक्षिक सत्र २०८२ मा १ हजार २ सय ७५ जना विद्यार्थी रहेको विद्यालयले शैक्षिक सत्र २०८३ मा विद्यार्थी संख्या १ हजार ३ सय ५० पुग्ने अनुमान गरेको छ ।











