हेटौँडा : बागमती प्रदेशको ४ जिल्लामा छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रे, दोलखा, चितवन र सिन्धुली जिल्लामा मंगलबार ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–७ टाडिगाउँमा सडक विस्तारका क्रममा ढुङ्गासहितको पहिरो खसेर स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ । मंगलबार बिहान ११ बजेर ३० मिनेटको समयमा मध्यपहाडी लोकमार्ग अन्तर्गत सडक विस्तारका लागि ट्र्याक खन्ने क्रममा माथिबाट ढुङ्गासहितको पहिरो खस्दा बा २ क २७९२ नम्बरको स्काभेटर पुरिएको प्रहरीले जनाएको छ । घटनामा स्काभेटर चालक रौतहट जिल्लाको पौराही गाउँपालिका–३ का ४१ वर्षीय दिलिप स्मालीको घटनास्थलमै मृत्यु भएको थियो । मुचुल्का पश्चात शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ ।
दोलखाको भिमेश्वर नगरपालिका–६ चोथाङमा बेहोस अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलुङ गाउँपालिका–४ तितेचौरका ३३ वर्षीय जीतबहादुर कार्की रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार दिउँसो २ बजेर ३० मिनेटको समयमा मादक पदार्थ सेवन गरी बेहोस अवस्थामा फेला परेका कार्कीलाई उपचारका लागि चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पताल लगिएको थियो । उपचारको क्रममा कार्कीलाई दिउँसो ३ बजेर २० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
चितवनको माडी नगरपालिका–१ भंगतामा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया माया थापा मगर रहेको प्रहरीले जानकारी दिएको छ । माया मंगलबार दिउँसो ४ बजेको समयमा आफ्नो घर नजिकै रहेको बारीमा डुम्रीको रुखमा चढेर घाँस काट्ने क्रममा एक्कासी लडेर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि सरकारी अस्पताल भरतपुर लगिएको थियो । उपचारका क्रममा गए राति १२ बजेर २५ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बारास्थित बीपी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ । वैशाख ४ गते बिहान ९ बजेर १० मिनेटको समयमा काठमाडौँबाट तेह्रथुमतर्फ जाँदै गरेको बा ९१ प ४३६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ३५ फिट तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक तेह्रथुम जिल्लाको पञ्चकन्या गाउँपालिका–१ का २८ वर्षीय बिनोद लिम्बु गम्भीर घाइते भएका थिए । घाइते लिम्बुलाई उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा मंगलबार दिउँसो २ बजेर ३५ मिनेटको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
