Home अर्थ/व्यापार मध्यपूर्व द्वन्द्वका कारण निर्माण सामग्रीमा मूल्यवृद्धि : निर्माण व्यवसायीद्वारा म्याद थपको माग

मध्यपूर्व द्वन्द्वका कारण निर्माण सामग्रीमा मूल्यवृद्धि : निर्माण व्यवसायीद्वारा म्याद थपको माग

पत्रकार सम्मेलनमा निर्माण व्यवसायी महासंघ बागमती प्रदेश समितिका पदाधिकारी ।

हेटौँडा : बागमती प्रदेश निर्माण व्यवसायी महासंघले मध्य–पूर्वको तनावपूर्ण अवस्थाका कारण इन्धन र निर्माण सामग्रीमा मुल्यवृद्धि हुँदा निर्माण कार्य ठप्प भएको जनाएको छ । इन्धन र निर्माण सामग्रीमा भएको अत्यधिक एवम् अप्रत्याशित मूल्यवृद्धिका कारण विकास निर्माणका कार्यहरु अगाडि बढाउन सम्भव नरहेको महासंघले जनाएको हो ।

हेटौँडामा आइतबार पत्रकार सम्मलेन गर्दै महासंघले तत्काल आयोजनाहरुको म्याद थप गर्न सरकारसँग माग गरेको छ । निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिको सुनामीका कारण निर्माण उद्योग नै ठप्प हुने स्थितिमा पुगेकाले सबै खालका ठेक्काहरुको म्याद थप गर्नु अपरिहार्य भएको महासंघका अध्यक्ष छत्रबहादुर तामाङले जानकारी दिए । उनका अनुसार विशेषगरी मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन र बिटुमिन, सिमेन्ट, फलामजन्य डन्डी जस्ता अत्यावश्यक सामग्रीको मूल्यमा भारी वृद्धि भएको छ । बजारमा निर्माण सामग्रीहरुको अभाव देखिएकाले राष्ट्रिय गौरवका आयोजनादेखि साना–ठूला सबै काम प्रभावित भएको उनको भनाई छ ।

भौतिक पूर्वाधारको क्षेत्रमा आएको उक्त समस्याले मुलुकको समग्र अर्थतन्त्रमा गम्भीर असर पार्न थालेको उनले बताए । उक्त समस्याका कारण निर्माण क्षेत्रमा आबद्ध लाखौँ श्रमिकहरुको रोजीरोटीमा समेत संकट पैदा भएको उनले बताए । निर्माण उद्योगको उक्त विकराल अवस्थाबारे पटक–पटक सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि विगत दुई महिनादेखि मौखिक आश्वासन मात्र प्राप्त भएको उनको भनाई छ । उनले तत्काल ठोस निर्णय सहित निर्माण क्षेत्रको समस्या हल गर्न उनले माग गरे ।

राष्ट्र बैंकको मूल्य सूचकांकले बजारको वास्तविक महँगीलाई समेट्न नसकेको र उल्टै मूल्य घटेको देखाउने प्रवृत्तिका कारण निर्माण व्यवसायीहरु ठूलो आर्थिक भार र पीडामा परेको उनले बताए । महासंघले प्रत्येक आयोजनामा भएको मूल्यवृद्धि अनुसार मूल्य समायोजन गर्नका लागि तत्काल मूल्य समायोजन मार्गनिर्देशिका-२ जारी गर्न र सबै अवधिका ठेक्काहरुको हकमा म्याद थपको व्यवस्था मिलाउन सरकारसँग उनले माग गरे ।

मूल्यवृद्धिको समस्याबाट पीडित व्यवसायीहरुलाई बैंक ग्यारेन्टी, बीमा तथा थप क्षतिपूर्ति सहितको राहत प्याकेज उपलब्ध गराउन समेत महासंघले ध्यानाकर्षण गराएको छ । व्यवसायीका मागहरु तत्काल सम्बोधन नगरिए निर्माण उद्योग धराशायी हुने र आयोजनाहरु समयमै नसकिने हुँदा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने अध्यक्ष तामाङको चेतावनी छ ।

Exit mobile version