मध्यमवर्गीय परिवेशको अभाव र पारिवारिक संघर्षका लामा शृङ्खलाहरूले एउटा बालकलाई समयभन्दा धेरै अघि नै परिपक्व र व्यावहारिक त बनायो, तर उसको जीवनको त्यो निर्दोष ‘रमाउने उमेर’ कतिखेर जिम्मेवारीको ओझेलमा परेर बिलायो, उसैले पत्तो पाएन । बिहान–बेलुकाको छाक टार्नका लागि गरिएको कठोर मिहिनेत र पसिनाको गन्धले उसलाई जीवनको व्याकरण त सिकायो, तर आफ्ना रहरहरूलाई सधैँ किनारा लगाउन बाध्य पा¥यो ।
वयस्क उमेरको प्रवेशसँगै जिम्मेवारीका पहाडहरूले यसरी थिचे कि ऊसँग न त थकाइ मार्ने कुनै शीतल छहारी थियो, न त आफ्ना पीडा पोख्ने कुनै भरपर्दो चौतारी नै । एउटा छोरा हुनुको नाताले उसले गरेका त्यागहरू शब्दमा अटाउँदैनन् । उसले आफ्ना रंगीन सपनाहरूलाई बाकसमा थन्क्याएर परिवारको भोक मेटाउन परदेशको तातो बालुवा वा सहरको धुलो रोज्यो । दिनभरि परिवारको ओठको मुस्कान र पेटको भोक मेट्न तातो घाममा पसिना बगाएर फर्कँदा, अक्सर उसको भागमा चिसो भइसकेको खाना र सुनसान भान्सा मात्र बाँकी रहन्थ्यो । तर, त्यही चिसो गाँस निल्दै उसले आफ्ना रहरहरूलाई ‘अनावश्यक’ भन्दै पन्छाउनु नै आफ्नो नियति ठान्यो । आफ्नो शरीर थाकेर चुर हुँदा पनि ‘म ठिक छु’ भन्दै झुठो मुस्कानको मुखुण्डो लगायो । आफ्ना साना इच्छा र रहरहरूलाई थाती राखेर भाइबहिनीको शिक्षा र बुबाआमाको ओखतीको जोहो गर्नु नै उसको नित्य कर्म बन्यो ।
सपना त उसका पनि थिए, रङ्गीन र भव्य । प्रेमको त्यो निश्चल प्यास पनि थियो, जुन हरकोहीको भाग्यमा हुँदैन । तर विडम्बना ! जसलाई हृदयको सिंहासनमा सजाइयो, उनी भाग्यको पानामा लेखिएकी थिइनन् । बाहिरबाट चट्टान जस्तो देखिए पनि ऊ भित्रभित्रै एउटा टुटिसकेको मन र अनगिन्ती वेदनाहरू बोकेर गुम्सिइरहेको छ । आफन्तको अपेक्षा, साथीभाइको बुझाइ र आफ्नै मानसिक अन्तरद्वन्द्वसँग लड्दा–लड्दा ऊ थाकिसकेको छ । उसको यो इमानदारिता र सत्यताको दियोले कति समयसम्म आँधीसँग जुधिरहला, त्यो स्वयम् उसैलाई पनि थाहा छैन ।
यी सारा चोट र अभावहरूले उसलाई आज यति कठोर बनाइसकेको छ कि अब उसलाई न त आफ्नो असफलतासँग डर लाग्छ, न प्रकृतिको वितण्डासँग, न त मृत्युको अन्तिम प्रहारसँग नै । आँखाका आँसु सुकिसकेका छन् र मनका उत्साहहरू मरिसकेका छन् । ऊभित्र अब कुनै उमङ्ग बाँकी छैन । ऊ अब केवल आफ्ना लागि होइन, परिवार र समाजका लागि एउटा अभेद्य पर्खाल बनेर उभिएको छ ।
अन्ततः, समयको यो निर्मम यात्रामा ऊ एउटा यस्तो दियो बन्यो, जसले अरूको आँगन उज्यालो बनाउन आफूलाई थोपा–थोपा पगालिरह्यो । कुनै दिन त्यो दियो निभ्नेछ, या त विजयको शान्त श्वास फेर्दै, या त संघर्षको मैदानमा पूर्णतः रित्तिएर । जब त्यो दियो निभ्नेछ, त्यो केवल एउटा शरीरको अन्त्य हुनेछैन, बरु दशकौँदेखि गुम्सिएको एउटा मौन वेदना, अधुरा सपनाहरूको चाङ र एउटा त्यागले भरिएको सिङ्गो युगको विसर्जन हुनेछ । एउटा ‘छोरा मान्छे’ को अस्तित्व त्यसपछि केवल स्मृतिमा बाँकी रहनेछ, र उसको बलिदानको मूल्यको फैसला केवल समयको कठोर न्यायले गर्नेछ ।










