हेटौँडा : नयाँ वर्षको सुरुवातसँगै सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय हेटौँडा–११, डाङ्डुङेस्थित मामाघर नेपालमा सहयोगीको संख्या बढेको छ । बैशाखको पहिलो सातामा मामाघरलाई करिब १ लाख २३ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । मामाघर नेपाललाई पछिल्लो समय विभिन्न व्यक्तिहरुले जन्मदिन, पूण्यतिथि, विवाह वर्षगाँठ तथा विशेष अवसरमा सहयोग गर्दै आएका छन् ।
मामाघरलाई बैशाख १ गतेदेखि ७ गतेसम्ममा १ लाख २३ हजार रुपैयाँ प्राप्त भएको छ । हेटौँडा–४ निवासी रिता केसीले अक्षय तृतीयाको अवसरमा सोमबार २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । हाल अष्ट्रेलिया बस्दै आउनु भएका हेटौँडा–५ का दिनेशकुमार लामिछानेले आफ्नी छोरी दीक्षिता लामिछानेको जन्मदिनको अवसरमा मामाघरलाई २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । हेटौँडा–७ निवासी देवकुमार गौतमले आफ्ना बुबाआमाको स्मृतिमा ४ हजार ५ सय नगदसहित भान्जाहरुका लागि खाद्यान्न र फलफूल उपलब्ध गराउनुभएको छ । हाल साइप्रसमा रहनु भएका हेटौँडा–३ निवासी शेरे बलले आफ्नो जन्मदिनको अवसरमा ५ हजार ५ रुपैयाँ र हाल युकेमा रहनु भएकी हेटौँडा–३ की सल्मा लामाले ५ हजार १ सय नगदसहित भान्जाहरुका लागि खाद्यान्न सामग्री सहयोग गर्नु भएको छ ।
बकैया–५ निवासी उमेश तिमल्सिनाले आफ्नो छोरा आयान्स तिमल्सिनाको जन्मदिनको अवसरमा १० हजार रुपैयाँ, हेटौँडा–४ निवासी शिवप्रसाद बन्जराले आफ्नो जन्मदिनको अवसरमा ४ हजार नगदसहित भान्जाहरुका लागि बेलुकी खाना सहयोग गर्नुभएको छ । सुस्माज ब्युटी एकेडेमीका प्रोप्राइटर सुस्मा राना मगर र म्यानेजिङ डाइरेक्टर दीपक राना मगरले बैवाहिक वर्षगाँठको अवसरमा १० हजार, बाराको कोहल्वी–१ निवासी रवि श्रेष्ठ र पुष्पमाया डङ्गोलले वैवाहिक वर्षगाँठको अवसरमा ५ हजार रुपैयाँ सहयोग गर्नु भएको हो ।
यस अवधिमा मातातीर्थ औँसीको अवसरमा मामाघरलाई विशेष सहयोग प्राप्त भएको छ । मातातीर्थ औँसीको अवसरमा हेटौँडा–१ की स्वर्गीय भगिरथी पुडासैनीको परिवारले २० हजार नगदसहित भान्जाहरुका लागि स्टेशनरी सामग्री र बिहानी खाना सहयोग गर्नुभयो । स्वर्गीय निरा खड्काको परिवारले ४ हजार ५ सय रुपैयाँ सहयोग गर्नुभएको छ । यसैगरी हेटौँडा–५ की मनिषा दुलाल, हेटौँडा–१९ निवासी सरस्वती बर्तौला, हेटौँडा–२ निवासी मालती बस्नेत, हेटौँडा–६ निवासी मन्दिरा घिमिरे र भरत ढकालले खाजा तथा खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो ।










