हेटौँडा : बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले १० लाख रुपैयाँका टुक्रे योजनाहरुले प्रदेशलाई आर्थिक बोझ मात्र थपेको बताएका छन् । उनले साना र टुक्रे योजनाको कार्यान्वयनको विगतको अवस्थाले प्रतिफल शून्य देखाएको बताए ।
आइतबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै मन्त्री तामाङले प्रदेशको विकासका लागि वितरणमुखी नभई प्रतिफलमुखी बजेट आवश्यक रहेकोमा जोड दिए । मन्त्री तामाङले आर्थिक कार्यविधि ऐन २०७४ को अधिकार प्रयोग गरी बजेट परिमार्जन गरिएको उनको भनाई छ । उनका अनुसार २०८२ भदौ २३ र २४ गतेको आन्दोलनबाट भएको भौतिक क्षतिको पुनर्निर्माण र सिर्जना भएका पूँजीगत दायित्वहरु भुक्तानीका लागि स्रोत व्यवस्थापन गर्न १० देखि ५० प्रतिशतसम्म बजेट कटौति गर्नुपरेको उनले बताए ।
मन्त्री तामाङले ३७ वटा बजेट शीर्षक मध्ये २० वटामा प्राविधिक एवम् इन्ट्री त्रुटि भएको उनले स्वीकार गरे । मन्त्री तामाङले प्रदेशमा १० लाख मुनिका योजनाहरुको संख्या १ हजार ४ सय भन्दा बढी रहेको र तिनले ५४ अर्बको दायित्व सिर्जना गरेको बताए । टुक्रे बजेटले प्रतिफल नदिने भएकाले १० लाख मुनिका १० अर्ब बराबरका योजनाहरु खारेज गरेर प्रत्येक जिल्लामा १–१ अर्बका ठुला आयोजना चलाउनुपर्ने उनको भनाई छ ।
‘१ लाख रुपैयाँ काट्नुपर्ने ठाउँमा कर्मचारीबाट १०० लाई १००० इन्ट्री हुँदा १० लाख नै काटिन पुगेको देखियो । मन्त्रीको हैसियतले यसको जिम्मा म लिन्छु र यस्ता त्रुटिहरु सच्याइनेछ ।’ उनले भने, ‘एउटा खानेपानी योजना सक्न ६ करोड लाग्छ तर हामी वर्षको १० लाख मात्र हाल्छौँ । यसरी त योजना सक्न १०० वर्ष लाग्छ ।’
मन्त्री तामाङले प्रदेश सरकारको खर्च न्यूनीकरण गर्न प्रशासनिक पुनर्संरचनाको प्रतिवेदन तयार भइसकेको बताए । मन्त्रालयको संख्या घटाउने, सेवा केन्द्रहरु परिमार्जन गर्ने र कर्मचारी कटौती गरी प्रशासनिक बोझ कम गर्ने योजना यसै हप्ता सार्वजनिक गरिने उनले बताए ।










