एक बालकलाई भिटामिन ‘ए’ खुवाउनु हुँदै मन्त्री किरण थापा ।

हेटौँडा : राष्ट्रिय भिटामिन ‘ए’ वितरण कार्यक्रम अन्तर्गत आज आइतबार देशभर ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदैछ । आज र भोलि दुई दिन भिटामिन ए र जुकाको औषधी खुवाइँदैछ । आज बिहान हेटौँडा–९, लामसुरेस्थित वडा कार्यालय भवनमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भिटामिन ‘ए’ खुवाउने कार्यक्रमको उद्घाटन गर्नुभयो ।

भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रमको उद्घाटनमा हेटौँडा–९ का वडा अध्यक्ष सुकराम केसी, जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठ, पोषण फोकल पर्सन बासुदेव रिमाल, हेटौँडा उपमहानगरपालिका पोषण फोकल पर्सन केशव तिमल्सिना र लामसुरे आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख प्रकाश श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो ।