नानीमाया सापकोटा
हेटौँडा : करिब १० वर्षअघि हेटौँडा–५ स्थित बालज्योति माविमा २ सय ४० जना विद्यार्थी अध्ययनरत थिए । तर अहिले बालज्योति माविमा करिब १ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् । हिजो निजी विद्यालयमा आफ्ना बालबालिकाहरु पठाउने अभिभावकहरु आज बालज्योति माविमा आफ्ना बालबालिका भर्ना गराउन लालायित छन् ।
हेटौँडा उपमहानगरका अन्य सामुदायिक विद्यालयमा विद्यार्थी घटिरहेको अवस्थामा बालज्योति माविमा भने वर्षेनी विद्यार्थी संख्या बढिरहेको छ । यस वर्षको एसइइमा बालज्योति माविबाट १ सय जना विद्यार्थी सहभागी भएका छन् । अघिल्लो वर्ष १ सय २ जना विद्यार्थी एसईईमा सहभागी हुँदा ७६.५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । एक जना ४ जिपिएसहित १५ जना विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गर्न सफल भएका थिए । एसइइ मात्र होइन पालिकास्तरीय (कक्षा–८) परीक्षामा १ सय २० जना सहभागी भएकामा २ जना ४ जिपिएसहित २० जनाले ए प्लस ग्रेड प्राप्त गरेका छन् ।
यस किसिमको उत्कृष्ट नतिजा विद्यालयले सजिलै हासिल गरेको होइन । विद्यालयको व्यवस्थापन समिति, शिक्षक तथा स्थानीय अगुवाहरुको महत्वपूर्ण भूमिका रहेको प्रधानाध्यापक भरत अर्यालको बुझाइ छ । विद्यालयले १० वर्षअघि विद्यालयको नतिजा खस्कँदो अवस्थामा पुगेपछि कि विद्यालय अरु विद्यालयमा मर्ज गर्नैपर्ने वा जसरी पनि विद्यालयको पहिचान जोगाउनुपर्ने अवस्थामा विद्यालयले विशेष मिहिनेत गर्ने निर्णय लियो । सोही निर्णयले नै आजको बालज्योति माविको पहिचान बन्दै गएको प्रति प्रधानाध्यापक अर्याल खुसी व्यक्त गर्नुहुन्छ ।
अघिल्लो शैक्षिक सत्रमा विद्यालयले सोचेको र अपेक्षा गरेका अधिकांश योजना सफल भएको उहाँले बताउनुभयो । सुरुमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपनि क्रमशः विद्यार्थी संख्या बढ्न थाल्यो । अहिले विद्यालयका ५ वटा ब्लकहरुमा छुट्टा छुट्टै पठनपाठन हुन्छ । यि ब्लकमा खटिएका शिक्षकहरु आफ्नो जिम्मामा रहेको ब्लक नाघेर अन्त जाँदैनन् र आफ्नै ब्लकमा मात्रै विद्यार्थीहरुमाथि निगरानी राख्ने गरेको अर्यालले बताउनुभयो । शिक्षक तथा अभिभावक मात्र होइन पूर्वविद्यार्थीहरु समेत सक्रिय भएर विद्यालय सुधारमा लागिरहेका छन् । विद्यालयले वर्षमा ३ पटकसम्म कक्षागत अभिभावक भेला राख्दै आएको छ ।
विद्यालयको अवस्था सुधारमा अभिभावकको पनि महत्वपूर्ण भूमिका रहेको प्रधानाध्यापक अर्यालले उल्लेख गर्नुभयो । अभिभावकहरुले शिक्षकहरुसँग समन्वय गरी बालबालिकाको व्यवस्थापन गर्ने गरेकोले अभिभावकप्रति कृतज्ञ हुनुहुन्छ । विद्यालयले कमजोर तथा पछाडि परेका विद्यार्थीलाई थप कक्षा पठनपाठन गर्दै आएको विद्यालयले जनाएको छ । पूर्वप्राथमिक तथा प्राथमिक तहका विद्यार्थीलाई कक्षामा २ जना शिक्षक राखेर पठनपाठन गरिँदै आएको छ । विद्यालयमा विद्यार्थी संख्या बढेअनुसार भवन तथा कक्षाकोठाको संख्यामा कमी भएकोले भने असहज भइरहेको प्रधानाध्यापक अर्यालले गुनासो गर्नुभयो । यस वर्ष नयाँ भर्नाका लागि २ सय भन्दा बढी विद्यार्थीहरु विद्यालयमा आएपनि ७० जना भन्दा विद्यार्थी थप्न नसकिने उहाँको आँकलन छ । विद्यालयमा हाल ७७ जना शिक्षकहरु रहेकामा ४६ जना निजी स्रोतबाट राखिएको समेत प्रधानाध्यापक अर्यालले जानकारी दिनुभयो ।
कुनै पनि विद्यालयको प्रगति र शैक्षिक गुणस्तर बढाउन विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधी, अभिभावक, सबैको समान र सक्रिय सहभागिता रहनु जरुरी रहेको उहाँको बुझाइ छ । विद्यालयको अवस्था सकारात्मक बनाउन विशेषगरी शिक्षकहरु नै जिम्मेवार, जवाफदेही र समन्वयकारी हुनुपर्ने उहाँको सुझाव छ । शिक्षकहरुले विद्यार्थीको असफलतालाई आफ्नै असफलता मानेर समाधान गर्ने प्रयास गरेमा अवश्य विद्यालयमा सकारात्मक परिवर्तन आउने उहाँको अनुभव छ ।











