हेटौँडा : तीन महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट २ हजार ७ सय ५३ जनाले नयाँ नागरिकता प्राप्त गरेका छन् । माघ महिनादेखि चैत्र मसान्तसम्ममा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट बंशजसहित अंगीकृत तथा गैरआवासिय नेपाली नागरिकता प्राप्त गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार २ हजार ७ सय ३६ जनाले बंशजका आधारमा नागरिकता लिँदा ९ जनाले अंगीकृत र २ जनाले बैबाहिक अंगीकृत नागरिकता लिएका छन् । यस्तै ६ जनाले गैरआवासिय नेपाली नागरिकता प्राप्त गरेका छन् । बंशजको नागरिकता प्राप्त गर्ने मध्ये १ हजार ३ सय पुरुष तथा १ हजार ३ सय ८९ जना महिलाहरु रहेका छन् । यस्तै अंगीकृत नागरिकता प्राप्त गर्ने ९ जनामध्ये पुरुष ७ जना र महिला २ जना रहेका छन् । यस्तै गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नेहरु मध्ये ५ जना पुरुष तथा १ जना महिला रहेको कार्यालयले जनाएको छ ।
नागरिकताको प्रतिलिपि २ हजार ६ सय २६ जनाले प्राप्त गरेका छन् । कार्यालयबाट जिल्लाका २ हजार ८ सय ५ जनालाई राहदानीका लागि सिफारिस दिइएको छ । राष्ट्रिय परिचयपत्रका लागि ८ हजार ९ सय ३१ जनाको व्यक्तिगत विवरण संकलन गरिएको तथा तीन महिनाको अवधिमा २ हजार ५ सय २० जनालाई राष्ट्रिय परिचयपत्र वितरण समेत गरिएको छ । नाबालिग परिचयपत्र ७७ जनालाई वितरण गरेको जनाएको छ । नयाँ संघ, संस्था दर्ता ७ वटा र पुराना संघ, संस्थाहरु ६० वटा नवीकरण गरेको कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले तीन महिनामा ६८ वटा मुद्दा दर्ता गरेको छ । जसमध्ये करिब ७० प्रतिशत अर्थात ४७ वटा मुद्दाको फैसला समेत भइसकेको जनाएको छ । विभिन्न ३३ वटा उजुरी दर्ता समेत गरिएको कार्यालयले जनाएको छ । प्रशासनले यस अवधिमा हेटौंडा सिमेन्ट उद्योग तथा मालपोत कार्यालय हेटौँडामा अनुगमन गर्नुका साथै १९ फर्महरुको बजार अनुगमन गरेको छ । यस अवधिमा जिल्ला प्रशासनले ३ जना बैदेशिक रोजगारमा समस्या पीडितलाई २१ लाख ७० हजार प्रदान गरेको छ ।
यसैगरी विपद् राहतको रुपमा जिल्लाका १५ जनालाई १९ लाख २५ हजार रुपैयाँ प्रदान गरेको छ । सवारी दुर्घटनाबाट पीडित भएका ३ जनालाई १५ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको छ । जिल्लाभित्रका १२ जना द्वन्द्वपीडितहरुलाई राहत स्वरुप ४ लाख ६० हजार रुपैयाँ प्रदान गरिएको जनाएको छ । यस अवधिमा जिल्ला प्रशासनले ८ करोड २९ लाख २८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ भने कार्यालयको बजेट मध्ये चालु खर्च ८७ लाख ८६ हजार रुपैयाँ र पूँजीगत खर्च ४२ लाख ७३ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।
कार्यालयले हाल टोकन प्रणालीको व्यवस्थापनलाई निरन्तरता दिँदै आइरहेको छ भने राहदानी, राष्ट्रिय परिचयपत्र, नागरिकता लगायत अन्य सेवा प्राप्त गर्ने सेवाग्राहीहरुलाई नागरिक सहायता कक्षबाट निशुल्क फारम भर्ने सुविधा निरन्तर रुपमा दिँदै आएको छ ।











