पारिजातको प्रतिमामा माल्यार्पण गरिँदै ।

हेटौँडा : साहित्यकार पारिजातको स्मृति दिवसको अवसरमा हेटौँडा–१०, बसपार्कमा रहेको पारिजातको प्रतिमामा माल्यार्पण गरिएको छ । साहित्य सङ्गम मकवानपुर तथा हेटौँडा–१० स्थित आदर्श टोल विकास संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे लामाले माल्यार्पण गर्नुभएको हो ।

कार्यक्रममा साहित्यकार सुवास सजलले पारिजातका प्रतिनिधी कविताहरु वाचन गर्नुभएको थियो । कार्यक्रमका सहभागीले नेपाली साहित्यमा पारिजातको योगदानको चर्चा गर्नुभएको थियो । साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष मनोज पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरु एवम् साहित्यप्रेमीको उपस्थिति रहेको थियो ।

नेपाली साहित्यमा पारिजात नामले परिचित विष्णु कुमारी वाइबाको जन्म १९९४ सालमा दार्जिलिङमा भएको थियो । भारतमा जन्मिए पनि पढाइ तथा साहित्यमा मलजल गर्ने काम २०११ सालमा नेपाल आएपछि सुरु भयो । पारिजातले काठमाडौंको पद्मकन्या क्याम्पसबाट स्नातक तहसम्म अध्ययन पुरा गर्नुभयो । उहाँको शिरिषको फुल सबैभन्दा चर्चित उपन्यास हो । यस कृतिका लागि पारिजातले २०२२ सालमा मदन पुरस्कार जित्दै पहिलोपटक मदन पुरस्कार जित्ने महिला साहित्यकारको पहिचान बनाउनुभएको थियो ।

यतिमात्र नभएर यस उपन्यास विभिन्न भाषामा अनुवाद गरी विश्वका विभिन्न विश्वविद्यालयहरुमा पठनपाठनमा समेत समावेश गरिएको छ । पारिजातले उपन्यास बाहेक कविता, कथा, जीवनी तथा संस्मरण समेत प्रकाशन गर्नुभएको छ । विभिन्न विधामा एकैसाथ कलम चलाउनुभएकी पारिजातको २०५० बैशाख ५ गते निधन भएको थियो ।