हेटौँडा उपमहानगरपालिका ।

हेटौँडाः कडा रोगहरुको निःशुल्क तथा सहुलियत उपचारका लागि हेटौँडा उपमहानगरपालिकाबाट १ सय ९८ जना विपन्नहरुले सिफारिस लिएका छन् । साउनयता चैतसम्मको ९ महिनाको अवधिमा कुल १ सय ९८ जना गरिब तथा विपन्नहरुलाई अस्पतालको उपचारमा दिँदै आएको निःशुल्क वा सहुलियत सुविधा प्राप्त गर्नका लागि उपमहानगरपालिकाको स्वास्थ्य शाखाबाट सिफारिस लिएका हुन् ।

मुटु, क्यान्सर, स्पाइनल इन्जुरी, मिर्गौला, पार्किन्सन, अल्जाइमर्स, हेड इन्जुरी र सिकलसेल एनिमिया गरी तोकिएका ८ प्रकारका रोगहरुमा उपचारका लागि बिपन्नहरुले सहुलियतपूर्ण तथा निःशुल्क उपचार सेवा प्राप्त गर्नका लागि सिफारिस दिइने प्रावधान छ । यी रोगहरुमध्ये तीन रोगहरुः मिर्गौला रोग तथा डायलाइसिस उपचारमा संग्लग्न, क्यान्सर, स्पाइनल इन्जुरी भएका विपन्नहरुका लागि नेपाल सरकारको कार्यक्रमअनुसार मासिक ५ हजारको दरले प्रदान गर्ने गरिन्छ ।

नेपाल सरकारले ७७ मध्ये २५ वटा जिल्लामा लागू गरिएको कार्यक्रम मकवानपुरमा पनि सबै स्थानीय तहहरुले लागू गरेका छन् । हेटौँडा उपमहानगरपालिकाबाट ७ जनालाई ५ हजारको दरले मासिक उपचार सुविधा दिँदै आएकोमा यस वर्ष १ जनाको निधन भई हाल ६ जनाले उपचार खर्च पाउँदै आएको हेटौँडा उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

स्थानीय तहले यी तोकिएका रोगहरुको परीक्षण, औषधि उपचार लगायतमा हुने खर्चमा सहुलियत वा निःशुल्क सेवा प्रदानका लागि विपन्न तथा गरिबको परिचयपत्र भएकाहरुलाई सिफारिस दिँदै आएको छ । हेटौँडा उमहानगरपालिकामा ४६ हजार घरधुरी रहेकोमा करिब २ हजार ५ सयले विपन्नताको परिचयपत्र प्राप्त गरेका छन् ।