Home मुख्य समाचार जिल्ला प्रहरी कार्यालयद्वारा चैत महिनाको प्रगति विवरण सार्वजनिक, घटेन आत्महत्याको संख्या

जिल्ला प्रहरी कार्यालयद्वारा चैत महिनाको प्रगति विवरण सार्वजनिक, घटेन आत्महत्याको संख्या

हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार चैत महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा आत्महत्या गर्नेको संख्यामा भने कमी आउन सकेको छैन । फागुन महिनामा जस्तै चैत महिनामा पनि ५ जना महिला र ५ जना पुरुष गरी कुल १० जनाले आत्महत्या गरेका छन् ।

सो अवधिमा जिल्ला प्रहरी कार्यालयमा परेका ११८ उजुरीमध्ये पुरानासहित १४३ वटा र जिल्ला प्रशासन कार्यालयबाट आएका १८ उजुरीमध्ये १५ वटा फछ्र्यौट भएको प्रहरीले जनाएको छ । प्रहरीको विवरणअनुसार चैत महिनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ २६ वटा र घरेलु हिंसातर्फ २३ वटा उजुरी दर्ता भएका छन् ।

यसैगरी, जिल्लामा अभद्र व्यवहारका २९ वटा, बैंकिङ कसुरका २० वटा र जबरजस्ती करणीका २ वटा घटना घटेका छन् । प्रहरीले चालु मुद्दाका १२६ जना प्रतिवादीलाई पक्राउ गरेको छ भने फैसला कार्यान्वयन भइसकेका मुद्दामा ३७ जना प्रतिवादीलाई पक्राउ गरी ७४ लाख ६ हजार ३ सय रुपैयाँ बिगो रकम असुल गरेको छ ।

लागूऔषध नियन्त्रणतर्फ प्रहरीले उल्लेख्य सफलता प्राप्त गरेको छ । चैत महिनामा १९१ किलो गाँजा, ४४५ मिलिग्राम हेरोइन, ३ किलो ४७८ ग्राम अफिम र ३४ पिस ट्रमाडोल बरामद गरिएको छ । यी अवैध सामग्री ओसारपसारमा संलग्न ५ वटा सवारी साधन र ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै, एक महिनाको अवधिमा जिल्लामा ३७ वटा सवारी दुर्घटना भएका छन्, जसमा ४ जनाको मृत्यु र १२१ जना घाइते भएका छन् । सवारी दुर्घटनामा परेका ८५ जनालाई प्रहरीले उद्दार गरेको थियो ।

ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६६९ जनालाई कारबाही गर्दा १५ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरी जनाएको छ । अवैधरुपमा भन्सार छली ल्याइएका ७ लाख ४५ हजार ७८६ रुपैयाँ बराबरका सामानहरु पनि प्रहरीले बरामद गरेको छ । यसैगरी, चैत महिनामा जिल्लामा ६ वटा आगलागीका घटना हुँदा १८ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

अवैध मदिरा नियन्त्रण अभियान अन्तर्गत ४ हजार ५ सय लिटर तयारी घरेलु मदिरा र ७ हजार ५ सय लिटर कच्चा पदार्थ बरामद गरी ७ जनालाई पक्राउ गरेका छन् । प्राकृतिक सम्पदा दोहनमा संलग्न २१ वटा सवारी साधनलाई नियन्त्रणमा लिई १ लाख ७६ हजार रुपैयाँ जरिवाना गरेको छ । नागरिक सहायता कक्षका अनुसार महिनाभरीमा ६ हजार ३ सय ४४ जनाले कार्यालयबाट सेवा प्राप्त गरेका छन् । यस्तै, प्रहरीले बागमती गाउँपालिकाबाट एक थान भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ भने अर्को एक स्थानमा बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुकसमेत फेला पारेको छ ।

Exit mobile version