Home मुख्य समाचार शैक्षिक गुणस्तर सुधार गर्न अभिभावकलाई ब्युझाउनुपर्छः प्रधानाध्यापक उप्रेती

शैक्षिक गुणस्तर सुधार गर्न अभिभावकलाई ब्युझाउनुपर्छः प्रधानाध्यापक उप्रेती

मालती उप्रेती प्रधानाध्यापक, अमर मावि

हेटौँडाः अघिल्ला वर्षहरुमा भन्दा शैक्षिक गुणस्तरमा सुधार आएको हेटौँडा–१ स्थित अमर माविकी प्रधानाध्यापक मालती उप्रेतीको दावी छ । अघिल्ला वर्षहरुमा भन्दा अनुत्तीर्ण हुने दरमा कमी मात्रै आएको होइन, पठनपाठनप्रति अभिभावक तथा विद्यार्थीहरुको धारणामा पनि परिवर्तन आउँदै गएको देख्दा प्रधानाध्यापक उप्रेतीलाई विद्यालयमा केही प्रगति भएकै हो भन्ने लाग्छ । विद्यालय व्यवस्थापन समिति र शिक्षक तथा कर्मचारीको समन्वय राम्रो भएकोले यो फरकपना आएको उप्रेतीको भनाइ छ ।

हुन त अघिल्लो वर्ष विद्यालयमा ६ सय ५० जना विद्यार्थीहरु अध्ययन गर्दथे तर यस वर्ष विद्यालयमा विद्यार्थी संख्या घटेको छ । यस वर्ष छ सय ८२ जना विद्यार्थीमात्र यस विद्यालयमा पढे । तर विद्यालयको गुणस्तर घटेको कारण नभएर स्थानीय क्षेत्रमा अर्को आधारभूत विद्यालय यस वर्षबाट माध्यमिक तहमा परिणत भएको कारण विद्यार्थी घटेको उहाँको दावी छ । यसअघि धेरै विद्यार्थी आउने वडा नं ११ सिमलटारको शंकरज्योति आधारभूत विद्यालयमा यस वर्ष एसईई पहिलो ब्याचले परीक्षा दिएका छन् । विगतमा यो विद्यालय क्षेत्र वरिपरिका विद्यार्थीहरु माध्यमिक तहमा पढ्न अमर मावि नै जाने गर्दथे ।

अघिल्लो शैक्षिक सत्रमा विद्यालयले धेरै कार्यक्रम थप ग¥यो । विद्यालय व्यवस्थापन समितिले अघिल्लो वर्ष शिक्षण सिकाइ सुधार योजना ल्याउने निर्णय ग¥यो । यस कार्यक्रमपछि विद्यालयले अभिभावकहरुलाई सक्रिय बनाउन प्राथमिकता दियो । वर्षमा कम्तीमा तीन पटक अभिभावक बैठकमा उपस्थित हुनैपर्ने, सबैभन्दा धेरै पटक विद्यालयमा सक्रियता देखाउने अभिभावकहरुलाई सम्मानको व्यवस्थासमेत गरिएको उप्रेतीले बताउनुभयो । अभिाभावकको सक्रियतापछि बालबालिकाको वास्तविक समस्याबारे शिक्षक र अभिभावकबिच अन्तरक्रिया गरिने गरेको उहाँले बताउनुभयो ।

पूर्वप्राथमिक कक्षाहरु इसीडी, केजी तथा कक्षा ३ सम्म कक्षामा दुई जना शिक्षकहरु राखेर पठनपाठन गर्न थालियो । यसले गर्दा सबै कक्षाका विद्यार्थीलाई बराबर ध्यान दिन सहज भएको बुझाई छ । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा विद्यालयले यसवर्ष पनि परिमार्जितरुपमा शिक्षण सिकाइ सुधार योजनामा कार्यक्रम थप गर्दै लैजान विद्यालय व्यवस्थापन समितिको बैठकले निर्णय गर्ने विद्यालयको योजना छ ।
विद्यालयले बैशाख ७ गतेबाट पुस्तक वितरण तथा भर्ना र १० गतेबाट कक्षा सुरु गर्ने तयारी गरेको छ । यसअघि निस्क्रिय रहेका अभिभावकहरु पनि नियमित बैठकमा आउन थालेको उप्रतीको भनाइ छ । यस्तै, विद्यार्थीहरु उत्तीर्ण हुने दर बढेर प्रत्येक विषयमा ८० प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका प्रधानाध्यापक उप्रेतीको दावी छ ।

हाल माध्यमिक तहका लागि संघीय अनुदानमा ३ जना शिक्षकहरु रहेको यस विद्यालयमा माध्यमिक तहमा १ जनाको पनि दरबन्दी छैन । यी ३ जनाबाहेक अन्य प्राथमिक तहका शिक्षकहरुले धानेको यो विद्यालयमा कुल २३ जना शिक्षकहरु रहेका छन् । विद्यालयको आर्थिक स्रोत नहँुदा विद्यालय व्यवस्थापन गर्नु चुनौती नै बनेको उहाँको अनुभव छ । स्थानीय सरकारले दिएका विभिन्न शीर्षकका खर्चहरु तिनै शीर्षकमा सकिन्छन् । विद्यालयमा आइपर्ने विभिन्न भौतिक पूर्वाधार तथा मर्मत सम्भारका नदेखिने खर्चहरु व्यवस्थापन गर्न असहज भएको उहाँले गुनासो गर्नुभयो ।

प्रधानाध्यापकले प्राज्ञिक पक्षभन्दा विद्यालय व्यवस्थापनमा बढी ध्यान दिनुपरेको विषयसमेत उहाँलाई खड्किएको छ । यदि स्थानीय तहले सामुदायिक विद्यालयका सबै खर्चहरु मिलाइदिने हो भने शैक्षिक गुणस्तरमा पूर्ण ध्यान दिन पाइने उहाँको अपेक्षा छ । यसअघि एसईईका विद्यार्थीहरुलाई बन्द शिविरमा राखेर कक्षा सञ्चालन गरिएको र अन्य कक्षामा पछाडि परेका विद्यार्थीहरुलाई थप छुट्टै कक्षा लिएर सुधारको प्रयास गरेको विद्यालयले जनाएको छ ।

विद्यालयमा सकारात्मक सुधार ल्याउन विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक तथा शिक्षकहरुको सक्रियता र समन्वय जरुरी भएको भन्दै अभिभावकलाई सचेत बनाउन सकिएमा विद्यालयको गुणस्तर सुधारको बाटो सुरु हुने उहाँले बताउनुभयो । स्थानीय तहले आर्थिक स्रोत साधन, अनुगमन गरी अभिभावकत्व देखाउने र सुधारका विभिन्न योजनाहरुको व्यवस्थापन गरेमा सामुदायिक विद्यालयहरु सुधारको बाटोमा लाग्ने उहाँको सुुझाव छ ।

Exit mobile version