हेटौँडा : बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र सञ्चालित सबै निजी तथा गैरसरकारी अस्पतालहरुलाई निःशुल्क शैय्या सेवा उपलब्ध गराउन ताकेता गरेको छ । मन्त्रालयले प्रदेशका निजी तथा गैरसरकारी अस्पतालहरुलाई ताकेता गर्दै कुल शैय्याको १० प्रतिशतमा अनिवार्य रुपमा निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्रालयले सोमबार एक परिपत्र जारी गर्दै बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३ को उपदफा (६) मा भएको कानुनी व्यवस्थालाई अक्षरशः पालना गर्न निर्देशन दिएको हो । उक्त ऐनमा हरेक अस्पतालले सामाजिक सेवा इकाई स्थापना गरी अस्पतालको कुल शैय्या संख्याको कम्तीमा १० प्रतिशत शैय्यामा बेवारिसे, अति गरिब, विपन्न, अपाङ्गता भएका र असहाय व्यक्तिहरुलाई निःशुल्क उपचार सेवा दिनुपर्ने प्रावधान छ । सो अन्तर्गत लक्षित वर्गलाई आवश्यक सेवा, औषधि तथा उपचार उपलब्ध गराउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित अस्पताल स्वयम्ले व्यहोर्नुपर्नेछ ।
उक्त कानुनी प्रावधानको कार्यान्वयन अवस्था सन्तोषजनक नभएको र जनस्तरबाट विभिन्न गुनासोहरु प्राप्त भएका मन्त्रालयले ताकेता गर्दै कानुन बमोजिमको निःशुल्क सुविधा उपलब्ध गराउन निर्देशन गरेको हो । मन्त्रालयले तोकिएको प्रतिशतमा लक्षित वर्गलाई सेवा उपलब्ध गराउन र सोको कार्यान्वयन सम्बन्धी प्रगति विवरण नियमित रुपमा मन्त्रालयमा पेश गर्न समेत निर्देशन दिएको छ ।











