अभिमुखीकरण कार्यक्रममा सहभागी केन्द्राध्यक्षहरु ।

हेटौँडा : विद्यालय शिक्षा परीक्षा (एसइइ) नजिकिँदै गर्दा शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले परीक्षा केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण सम्पन्न गरेको छ । आइतबार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज रेग्मीको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा परीक्षाको तयारी, प्रश्नपत्रको सुरक्षा, परीक्षा केन्द्रहरुको सुरक्षा संवेदनशीलता लगायतको विषयमा अन्तरक्रिया भएको हो ।

अभिमुखीकरणमा शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीप गिरिले जिल्लाका परीक्षा केन्द्र रहेका २८ वटा विद्यालयहरुको वस्तुस्थितिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मर्यादित वातावरणमा परीक्षा सञ्चालन गर्ने बारे र विद्यार्थी अनुशासनबारे पनि छलफल भएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको साथै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, सशस्त्र प्रहरी उपरीक्षक नीवन कुमार खड्का लगायतका जिल्लास्थित सुरक्षा संयन्त्रका प्रमुखहरुको उपस्थिति थियो । एसईई यहि चैत्र १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदैछ । मकवानपुर जिल्लाका १० वटा पालिकाहरुमा गरी कुल २८ वटा बिद्यालयहरुमा परिक्षा केन्द्रहरु तोकिएका छन् ।