फाइनल प्रवेश गरेको न्यू डायमण्ड क्लबको महिला भलिबल टिम ।

हेटौँडा: हेटौँडामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा काठमाडौँको न्यू डायमण्ड स्पोट्र्स क्लब प्रवेश गरेको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौँडा–१० स्थित टिसिएनचौरमा जारी दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा भएको राष्ट्रिय महिला भलिबल प्रतियोगताको सेमिफाइनल खेलमा मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै काठमाडौँको न्यु डायमण्ड स्पोट्र्स क्लब फाइनलमा प्रवेश गरेको हो ।

शनिबार भएको पहिलो सेमीफाइनलमा न्यू डायमण्ड स्पोट्र्स क्लबले मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई २५–१०, २५–१४ र २५–१८ को सेटले सहजै पराजित गरेको हो । यस्तै, लुम्बिनी प्रदेशको स्टेप भलिबल क्लब पाल्पा र बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानबीचको सेमीफाइनल खेल वर्षाका कारण प्रभावित बनेको छ । उक्त खेल आइतबार बिहान ८ बजे हुने र फाइनल खेल दिउँसो १ बजे हुने आयोजक समितिका नरेन्द्र मोक्तानले जानकारी दिएका छन् ।

समूह चरणको दुई खेल खेलेको न्यु डायमण्ड क्लबले समूह ‘ए’ बाट विजेता बन्दै सेमीफाइनलको यात्रा पूरा गरेको थियो भने समूह चरणको २ खेल खेलेको जनशक्ति युवा क्लबले समूह ‘बी’ बाट उपविजेता सेमिफाइनलको यात्रा पूरा गरेको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले ३ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सेमीफाइनलमा पराजित हुने दुई टिमले ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विधागत उत्कृष्ट खेलाडीलाई ट्रफि, मेडल, प्रमाणपत्र र नगद प्रदान गरिने छ । प्रतियोगितामा ६ वटा राष्ट्रिय टिमहरुको सहभागिता रहेको छ । मकवानपुर जिल्ला भलिबल संघ र केशव लाल श्रेष्ठ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा भएको प्रतियोगितामा ६ वटा राष्ट्रिय टिमको सहभागिता रहेको थियो । बुधबारदेखि शुक्रबारसम्म भने पहिलो संस्करणको खुल्ला आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुनेछ ।