हेटौँडा : मकवानपुर जिल्लास्तरीय कराँते प्रतियोगिताको उपाधि बकैयाको हात्तीसुँडे डोजोले जितेको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा भएको प्रतियोगिता १४ स्वर्ण पदक हासिल गरेको हात्तीसुँडे डोजोले जितेको हो ।

प्रतियोगितामा ३ वटा स्वर्ण पदक प्राप्त गरेको बकैया–११ को सिमात बुद्ध डोजो दोस्रो र २ वटा स्वर्ण पदक प्राप्त गरेको हेटौँडाको मेन डोजो तृतीय भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत नेपाल सितोरियो कराँते संघ मकवानपुरको व्यवस्थापनमा सोमबार र मंगलबार प्रतियोगिता भएको थियो । प्रतियोगितामा ३०, ३५, ४०, ४५, ५०, ५५, ६० र ६५ केजी तौल समूहबीच प्रतिस्पर्धा भएको थियो । यस्तै, एकल काता प्रतियोगिता पनि भएको थियो । प्रतियोगितामा छात्र र छात्रा गरी ३ सय ६५ जना खेलाडीको सहभागिता रहेको थियो ।