हेटौँडा : हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र डेढ वर्षको अवधिमा करिब दुई हजार परिवारले बसाइँसराइ गरेका छन् । यस अवधिमा हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडाहरुमा १ हजार ९ सय ९८ परिवारले बसाइँसराइ गरेका हुन् ।
अन्य जिल्ला, पालिकाहरु तथा उपमहानगरपालिकाकै एक वडाबाट अर्को वडामा गरी १ हजार २ सय ४४ परिवारका ३ हजार ८ सय ३६ जना बसाइँ सरेर भित्रिएका छन् । यस्तै, ७ सय ५४ परिवारका २ हजार ३७ जना उपमहानगरपालिकाबाट अन्यत्र बसाइँ सरेर गएको उपमहानगरपालिकाको तथ्याङ्क छ । बसाइँसराइ गरी बाहिरिने भन्दा उपमहानगरमा भित्रिने संख्या बढी रहेको तथ्याङ्कले देखाएको छ ।
हेटौँडामा बसाइँ सरी आउनेमा सिन्धुपाल्चोक, बझाङ, धादिङ, कास्की, ओखलढुङ्गा, तनहुँ, बाग्लुङलगायत तराइका जिल्लाहरु सुनसरी, सिराहा, पर्सा, बारा, रौतहट, सर्लाहीका धेरै रहेका छन् । हेटौँडाबाट बसाइँ सरेर जानेहरुमा चितवन, काठमाडौं, बाँके, काभ्रेपलाञ्चोक, भक्तपुर, सिन्धुली, झापालगायतका जिल्लाहरुमा जानेको संख्या बढी रहेको उपमहानगरपालिकाले जनाएको छ । यस अवधिमा उपमहानगरपालिकाको वडा नम्बर ८ मा बसाइँसराइ गरी आउनेको संख्या सबैभन्दा बढी देखिएको छ । यस वडामा बसाइँसराइ गरी आउनेहरु अधिकांश तराइका जिल्लाबाट आएका छन् । यस वडामा डेढ वर्षमा १ सय ४६ परिवारका ४ सय ७८ जना सदस्यहरु बसाइँ सरी आएको तथ्याङ्क छ ।
यस्तै, हेटौँडाको मुटुमा रहेको वडा नम्बर ४ मा पनि बसाइँसराइ गरी आउनेको संख्या अन्यत्रभन्दा उच्च छ । यस वडामा १ सय ४० परिवारका ३ सय ७२ सदस्यहरु बसाइँसराइ गरी भित्रिएका छन् । यस वडामा विशेषगरी हेटौँडा आसपासका गाउँपालिकाहरु तथा उपमहानगरकै बाहिरी ग्रामीण वडाहरुबाट बसाइँ सरी आएको तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक वर्षभरिमा ८ सय २५ परिवारका २ हजार ५ सय १२ जना हेटौँडामा बसाइँसराइ मार्फत भित्रिएका थिए भने जम्मा ४ सय ८२ परिवारका १ हजार २ सय ७५ जना हेटौँडाबाट बाहिरिएका थिए । यस आर्थिक वर्षको ७ महिनाभित्रै ४ सय १९ परिवारका १ हजार ३ सय २४ जना बसाइँसाइ गरी आएका छन् । यसै अवधिमा २ सय ७२ परिवारका ७ सय ६२ जनाले हेटौँडा छोडेर बाहिरिएको उपमहानगरले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिका बागमती प्रदेशको राजधानी भएसँगै अस्पताल, शैक्षिक संस्था, सडकलगायतका पूर्वाधारका सुविधा बढेसँगै बसाइँसराइ बढेको उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख भीमप्रसाद तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार हेटौँडाका वडा नम्बर ७ र ८ मा तराइबाट बसाइँ सरी आउनेको संख्या बढिरहेको छ । बजार क्षेत्रबाट नजिकै र थोरै बाहिर रहेका यी वडाहरुमा बसाइँ सरी आउनेहरुको आकर्षण बढेको समेत उहाँले उल्लेख गर्नुभयो ।
नेपाल सरकारले विसं २०७१ मंसिर १६ गतेको निर्णयबाट तत्कालीन हेटौँडा नगरपालिकालाई हेटौँडा उपमहानगरपालिकामा रुपान्तरण गरेको थियो । हेटौँडा नगरपालिकाका साविकका वडाहरुसहित साविकको बसामाडी, पदमपोखरी, चुरियामाई, हटिया र हर्नामाडी गाविसहरु जोडेर हेटौँडा उपमहानगरपालिका घोषणा गरिएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार हेटौँडाको जनसंख्या १ लाख ९३ हजार ५ सय ७६ जना रहेको छ भने यहाँ ४६ हजार ५सय ६६ घरधुरी रहेका छन् ।











