Home मुख्य समाचार प्रदेश र स्थानीय सरकार सजग बन्नुपर्छ

प्रदेश र स्थानीय सरकार सजग बन्नुपर्छ

प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना सम्पन्न भएर अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचनको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै दुईतिहाइ सिट जितेको छ । प्रत्यक्षतर्फ एक सय २५ र समानुपातिकतर्फ ५७ गरी एक सय ८२ सिट रास्वपाले जितेको छ । नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिट प्राप्त गर्दा नेकपा एमालले प्रत्यक्षतर्फ ९ र समानुपातिकमा १६ गरी २५ सिट हात पारेको छ । नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षमा ८ र समानुपातिकमा ९ गरी १७ सिट जित्दा नयाँ दल श्रम संस्कृतिले प्रत्यक्षमा ३ र समानुपातिक ४ गरी ७ सिट हासिल गरेको छ । एक सिट प्रत्यक्षमा जितेको राप्रपाले समानुपातिकबाट ४ सिट पाएपछि ५ सिट बनाएको छ । यस पटकको निर्वाचन परिणामले पुराना दलहरुले विगतको तुलनामा निकै कम मत पाएका छन् । नयाँ दल र नयाँ अनुहारप्रति मतदाताको आकर्षण देखिँदा यसको प्रभाव २०८४ मा हुने स्थानीय तह र प्रदेशको निर्वाचनमा पनि पर्ने सम्भावना देखिएको छ ।

२०७९ सालको निर्वाचनमा मकवानपुरका बकैया, मकवानपुरगढी, कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष जितेको थियो । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र बागमती गाउँपालिकामा नेकपा एवम् भीमफेदी र इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेको प्रमुख तथा अध्यक्ष छन् । बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाको उपप्रमुखमा नेकपाका छन् । हेटौँडा उपमहानगर, थाहा नगर, बागमती गाउँपालिका र भीमफेदी गाउँपालिकामा नेपाली काँग्रेसले उपप्रमुख जितेको छ । इन्द्रसरोवर गाउँपालिकामा एमालेका उपप्रमुख छन् । यस अघिको निर्वाचनबाट जिल्लाका सबै पालिका र सबैजसो वडामा कांग्रेस, एमाले र नेकपाकै प्रतिनिधि विजयी भएका छन् ।

अहिलेको निर्वाचनमा एक सय ८२ सिट जितेको रास्वपा यस अघिको स्थानीय तह निर्वाचनको समयमा स्थापना भएकै थिएन । प्रदेश तहको संरचनाको विरोध गरेर उम्मेदवारै नउठाएको रास्वपाले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी २१ सिट जितेको थियो । विगतमा चौथो स्थानमा रहेको रास्वपाले यस पटक झण्डै ५२ लाख समानुपातिक मतसहित दुईतिहाइ नजिक सिट जितेपछि सर्वत्र चर्चा र चासो बढाएको छ । यस पटकको निर्वाचनमा अधिकांश मतदाताले मत परिवर्तन गरेका छन् । सामान्य मतदातामात्र नभई पुराना पार्टीका कतिपय कार्यकर्ता तथा समर्थकहरुसमेतले यस पटक रास्वपालाई मत दिएको मत परिणामले पुष्टि गरेको छ । पुराना दल र नेतृत्वप्रति जनताको विश्वास कम भएको अहिलेको मत परिणामले देखाएको छ । अहिलेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धेरैजसो मतदाताले रास्वपा, श्रम संस्कृति, उज्यालो नेपालजस्ता नयाँ दलको पक्षमा मत जाहेर गरेजस्तै प्रदेश र स्थानीय तहको आगामी निर्वाचनमा पनि नहोला भन्न सकिन्न ।

स्थानीय तथा प्रदेशका वर्तमान जनप्रतिनिधि तथा सरकारको नेतृत्व गरेकाहरु जनताप्रति जिम्मेवार जवाफदेही नहुने हो भने अहिलेको निर्वाचनको प्रभाव त्यसबेला पनि पर्ने सम्भावना प्रबल देखिन्छ । जेनजी आन्दोलनपछि पुराना दलहरुप्रति आम नागरिकको बढ्दो निराशा अहिलेको निर्वाचन परिणामले उजागर गरेको छ । अहिलेको निर्वाचन परिणामको प्रभावबारे प्रदेश र स्थानीय सरकार सजग बन्नु आवश्यक छ । नागरिकको यस्तो निराशा र असन्तुष्टि प्रदेश र स्थानीय सरकारप्रति पनि रहेको सहजै अनुमान गर्न सकिन्छ । सुशासनलाई केन्द्रमा राखेर आम नागरिकलाई सहज सेवा, सुविधा प्रदान गर्नेतर्फ स्थानीय र प्रदेश सरकारले ध्यान नदिने हो भने अहिलेको निर्वाचनको जस्तै परिणाम बेहोर्न तयार हुनुको विकल्प देखिँदैन

Exit mobile version