हेटौँडा : आसन्न निर्वाचनको मतगणना हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा गरिने भएको छ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना स्थल भुटनदेवी मावि तोकेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार भुटनदेवी माविको २ वटा ब्लकमा मतगणना गर्ने गरी तयारी गरिएको हो । मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भुटनदेवी माध्यमिक विद्यालयको ‘ए’ उत्तर तर्फको भवनमा गरिनेछ भने मकवनपुर क्षेत्र नम्बर २ को मतगणना विद्यालयको ‘बी’ ब्लक मा गरिनेछ । सबै मतदान केन्द्रहरुमा मतदान कार्य सम्पन्न भई मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि मात्र मतगणना सुरु गरिनेछ ।
निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउनका लागि गणना स्थलको सुरक्षा र अन्य व्यवस्थापनका कार्यहरु अगाडि बढाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
८ केन्द्रको मतपेटीका छिमेकी जिल्लाबाट ढुवानी गरिने
मकवानपुरका ८ मतदान केन्द्रमा सिधै सडक पहुँच नपुगेका कारण निर्वाचन सामग्री ढुवानी तथा मतदानपछि मतपेटिका संकलनका लागि छिमेकी जिल्लाको सडक प्रयोग गर्नुपर्ने भएको छ । बकैया गाउँपालिकाको ३ र राक्सिराङ गाउँपालिकाको ५ मतदान केन्द्रमा मकवानपुरबाट बाटो नहुँदा छिमेकी जिल्ला रौटहट, बारा र चितवनको सडकमार्ग प्रयोग गर्नुपर्ने भएको हो ।
प्रदेश निर्वाचन कार्यालय हेटौडाका अनुसार मकवानपुर क्षेत्र नम्बर १ अन्तर्गत पर्ने बकैया गाउँपालिकाका तीन मतदान केन्द्रका मतपेटिका बारा र रौतहट हुँदै मतगणनास्थल निर्वाचन अधिकृतको कार्यालय हेटौडा ल्याइनेछ । बकैया–१ स्थित सरस्वती माध्यमिक विद्यालय मोरङे र वडा नम्बर–२ को बालविकास निमावि सरस्वती भमरा मतदान केन्द्रका मतपेटिका रौतहटको चपुर हुँदै ल्याइनेछ भने बकैया–६ स्थित राष्ट्रिय कालिका प्राथमिक विद्यालयको मतपेटिका निजगढ, बारा हुँदै ल्याइने निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो ।
त्यसैगरी, क्षेत्र नम्बर २ अन्तर्गत पर्ने राक्सिराङ गाउँपालिकाका चार मतदान केन्द्रका मतपेटिका चितवन हुँदै ल्याइनेछ । वडा नम्बर–६ का राष्ट्रिय माध्यमिक विद्यालय सिलिङे र आयुर्वेद औषधालय सिलाधुनी, वडा नम्बर–७ को सातकन्या आधारभूत विद्यालय र दाम्राङ प्राथमिक विद्यालय र वडा नम्बर ८ स्थित ठूलो तोड्केमावी मतदान केन्द्रका मतपेटिका चितवनको राप्ती नगरपालिका–भण्डारा हुँदै मतगणनास्थल ल्याइनेछ । अन्य जिल्ला हुँदै मतपेटिका ल्याउनुपर्ने भए पनि मतदानकै दिन मतगणनास्थल ल्याउने व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
अन्तरजिल्ला सडक प्रयोग गर्नुपर्ने भएकाले सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखी सम्बन्धित जिल्लाका सुरक्षा निकायसँग समन्वय गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार जोखिम न्यूनीकरणका लागि सुरक्षा प्रमुखहरुसँग छलफल गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ ।
मकवानपुरमा ३७४ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये १९ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ, जसमा २६ मतदान केन्द्र रहेका छन् । सुरक्षा संवेदनशीलताका आधारमा ६० मतदानस्थल संवेदनशील र ८८ मतदानस्थल सामान्य श्रेणीमा वर्गीकृत गरिएको छ ।
