फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारी भइरहेको छ । यतिबेला निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएका कर्मचारी तथा सुरक्षाकर्मीको टोली देशभरका मतदान स्थलमा पुग्ने क्रम चलिरहेको छ । सदरमुकामबाट टाढा रहेका मतदान स्थलमा कर्मचारी तथा सुरक्षाकर्मीको टोली पुगिसकेको छ भने सदरमुकाम र आसपासका निर्वाचन स्थलमा पुग्ने क्रम जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले आइतबार निर्वाचन सामग्री वितरण गरी निर्वाचनका लागि आवश्यक सामग्रीसहित सोमबार नै मतदान अधिकृतहरुलाई मतदान केन्द्रमा पुग्न भनेको छ । निर्वाचनका लागि तोकिएको प्रचारप्रसारको समय समाप्त भई सोमबार राति १२ बजेबाट मौन अवधि सुरु भइसकेको छ । अब मतदान स्थल र मतदान केन्द्रको तयारीपछि बिहीबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान सम्पन्न हुनेछ । मतदानपछि मतगणना स्थलमा मतपेटिका पु¥याएर मतगणना हुनेछ र निर्वाचन परिणाम प्राप्त हुनेछ ।
भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइयो । कार्कीले सपथग्रहणलगत्तै प्रतिनिधिसभा भङ्ग गर्न सिफारिस गर्दै ६ महिनाभित्र निर्वाचन गराउने निर्णय गरिन् । प्रतिनिधिसभाको निर्वाचन गराउने मुख्य जिम्मेवारी रहेको सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तोक्यो । सुरुवातको समयमा तोकिएको मितिमा निर्वाचन हुने वा नहुने भन्ने धेरै आशंका व्यक्त गरिए पनि तोकिएकै मितिमा निर्वाचन हुने पक्काजस्तै भएको छ । सरकारले अन्यतिर भन्दा जसरी पनि तोकिएको मितिमा निर्वाचन गराउने दृढताका साथ काम गरेपछि मुलुकमा निर्वाचनको वातावरण बन्दै गयो र निर्वाचन सम्पन्न हुने अवस्थामा आइपुगेको छ ।
बिहीबार प्रतिनिधिसभाका २ सय ७५ सदस्यका लागि मतदान हुँदैछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) बाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित हुनेछन् । यस पटकको निर्वाचनमा देशभर प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये ३ हजार १७ जना पुरुष, ३ सय ८८ जना महिला र एक जना अन्य रहेका छन् । समानुपातिकतर्फ तीन हजार एक सय ३५ जना उम्मेदवारको नाम बन्द सूचीमा समावेश छ । प्रत्यक्षतर्फ ६५ राजनीतिक दल तथा समानुपातिकतर्फ ६३ राजनीतिक दलले निर्वाचनमा भाग लिँदैछन् । ९६ लाख ६३ हजार ३५८ पुरुष र ९२ लाख ३४ हजार १३१ महिला गरी कुल एक अरब ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन् ।
विशेष परिस्थितिमा हुन लागेको यस पटकको निर्वाचनप्रति मतदाताको उत्साहसँगै चासो वृद्धि भएको छ । जेनजी आन्दोलनपछि परम्परागत राजनीतिक शक्तिको विकल्पको चर्चा व्यापक भएका कारण अहिलेको निर्वाचनमा पनि पुराना राजनीतिक शक्ति र वैकल्पिक भनिएका राजनीतिक शक्तिबिच चुनावी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । निर्वाचनले ५ वर्षका लागि सांसद छान्नेमात्र नभई तिनै सांसदमध्येबाट संघीय सरकारको प्रधानमन्त्री चयन हुने भएकाले मतदान गर्दा धेरै कुरा विचार गर्नुपर्ने हुन्छ । सबै मतदाताले उत्साहपूर्वक मतदानमा सहभागी भएर योग्य प्रतिनिधि छान्नुपर्नेछ । निर्वाचनको सबै तयारी पूरा भएर मौन अवधि सुरु भइसकेकाले राजनीतिक दल तथा उम्मेदवारहरुले मतदातालाई प्रभावित पार्ने खालका कुनै पनि गतिविधि नगरी मतदान नहुन्जेलसम्म स्वच्छ र निष्पक्ष निर्वाचन गराउन सहयोग गर्नु आवश्यक छ ।
