हेटौँडा : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेद्वारको घरदैलो अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा होम्मिएका राजनीतिक दल तथा उम्मेदवारहरु विभिन्न मुद्दा बनाएर चुनावी मैदानमा रहेका छन् ।
घरदैलो, टोल तथा गाउँसभामा आफ्ना मुद्दासहित मतदाता भेटघाटमा उनीहरु व्यस्त छन् । केही दलहरुले ठूला तथा वृहत सभाहरु आयोजना गरेपनि अधिकांश दल तथा उम्मेदवारले घरदैलो र मतदाता भेटघाटलाई नै प्राथमिकतामा राखेका छन् । आम निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न प्रमुख दलहरुले लिखित घोषणापत्रहरु समेत सार्वजनिक गरेका छन् । मौन अवधि अघिका समयमा प्रमुख दल तथा उम्मेदवारहरुले आ–आफ्नो संकल्प र प्रतिवद्धतापत्र सार्वजनिक गर्दै मतदाता रिझाउन व्यस्त रहेका छन् । पूर्वाधार विकास, सुशासन, शिक्षा, स्वास्थ्य र सुकुम्बासी समस्याको समाधान यसपटक सबैजसो दलका साझा एजेन्डा बनेका छन् ।
मकवानपुरका सबैजसो उम्मेदवारहरुले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्यालाई प्राथमिकतामा राखेका छन् । वर्षौंदेखि थाती रहेको यो समस्या समाधान गरी जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गर्ने र कानूनी अड्चनहरु फुकाउने प्रतिबद्धता सबै दलको साझा एजेन्डा बनेको छ । हेटौँडालाई व्यवस्थित र आधुनिक सहरका रुपमा विकास गर्ने सोचमा उम्मेदवारहरुबीच मतऐक्यता देखिएको छ । हेटौँडा चक्रपथ (रिङरोड) निर्माण, वैकल्पिक मार्गहरुको खोजी र सडक विस्तारका क्रममा प्रभावित हुने नागरिकको सम्पत्तिको हक तथा उचित मुआब्जा सुनिश्चित गर्ने विषयलाई सबैले जोड दिएका छन् भने ग्रामीण क्षेत्रका सडकहरुको स्तरोन्नति र बाह्रै महिना यातायात चल्ने बनाउने योजना पनि साझा छ ।
सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक र सीपमूलक शिक्षाको विस्तार तथा ‘पढ्दै कमाउँदै’ कार्यक्रम धेरैजसो उम्मेदवारको प्राथमिकतामा परेको छ । स्वास्थ्यतर्फ हेटौंडा अस्पतालको सेवा विस्तार, हरेक स्थानीय तहमा विशेषज्ञसहितको अस्पताल र विपन्नका लागि निःशुल्क स्वास्थ्य सेवा पु¥याउने विषयमा सबैको एकमत देखिएको छ । कृषिलाई व्यावसायीकरण गर्ने, किसानलाई समयमै मल र बीउ उपलब्ध गराउने तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने प्रतिबद्धता साझा छ । विशेषगरी मकवानपुरको सन्दर्भमा गाँजा खेतीलाई औषधीय र औद्योगिक प्रयोगका लागि कानूनी वैधानिकता दिनुपर्ने एजेन्डा धेरैजसो उम्मेदवारले आफ्नो प्रतिबद्धता पत्रमा समावेश गरेका छन् ।
वैदेशिक रोजगारीमा जाने युवा शक्तिलाई जिल्लामै रोक्न युवा उद्यमशीलता र स्टार्टअपका लागि सहुलियतपूर्ण ऋण, सीपमूलक तालिम र रोजगारीका अवसरहरु सिर्जना गर्ने दावी सबै उम्मेदवारहरुले गरेका छन् । औद्योगिक क्षेत्रको विस्तार र स्थानीय उद्योगलाई प्रोत्साहन गर्ने विषय पनि सबैको साझा छ भने ऐतिहासिक मकवानपुरगढीको संरक्षण, बागमती र राप्ती नदी किनारमा पर्यटकीय पूर्वाधार निर्माण तथा धार्मिक एवम् पर्यटकीय क्षेत्रहरुलाई जोडेर ‘पर्यटन सर्किट’ विकास गर्ने, तामाङ, चेपाङ लगायतका जनजाति समुदायको भाषा र संस्कृतिको जगेर्ना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सेवा प्रवाहलाई प्रविधिमैत्री र झन्झटमुक्त बनाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने र सुशासन कायम गर्ने प्रतिबद्धता सबै उम्मेदवारको संकल्पपत्रको सुरुवातमै उल्लेख छ ।
कांग्रेसको ‘विद्युतीय सुशासन’ र भ्रष्टाचारमुक्त सेवा प्रवाह
नेपाली कांग्रेसको तर्फबाट मकवानपुर–१ मा महाललक्ष्मी उपाध्याय ‘डिना’ र मकवानपुर–२ मा बुद्ध लामा उम्मेदवार छन् । उनीहरुले कांग्रेसको केन्द्रीय संकल्पसहित छुट्टै मुद्दाहरु समेटेर प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् । उनीहरुले ‘विद्युतीय सुशासन’ र भ्रष्टाचारमुक्त सेवा प्रवाहमा जोड दिएका छन् । हेटौँडाको मुख्य बजार क्षेत्रमा १६ मिटर सडक कायम गरी पर्यटन मार्ग विकास गर्ने, सरकारी इन्जिनियरिङ कलेज र आइटी अनुसन्धान केन्द्र स्थापना गर्ने योजना उनीहरुले अघि सारेका छन् । ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा र कृषितर्फ ‘८ अ’ (अदुवा, आलु, अकबरे आदि) अभियानमार्फत व्यावसायीकरण गर्ने उनको प्रतिवद्धता छ ।
मनहरीमा ट्रमा सेन्टर निर्माण, गाँजाको वैधानिकतासहित व्यावसायिक तथा औषधीजन्य उत्पादनको पहल गर्ने उनीहरुको संकल्प रहेको छ । ग्रामिण क्षेत्रको सडक पूर्वाधार विकासमा जोड दिँदै आर्थिक उपार्जनका लागि विभिन्न स्रोतको खोजीका लागि कार्यक्रम तयार गर्ने योजना उनीहरुले प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् ।
सार्वजनिक निकायमा हुने दलीय भागबण्डा र राजनीतिकरणलाई पूर्णरुपमा निषेध गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै विधिको शासन स्थापना गर्ने, लगानीमैत्री कानून र कर प्रणालीको विकास गर्ने, ‘पढ्दै कमाउँदै’ कार्यक्रममार्फत युवाहरूलाई डिजिटल सीप र स्वरोजगारमा जोड्ने, सबै नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्न बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने र शिक्षालाई सीपसँग जोड्ने, समस्याग्रस्त सहकारीका बचतकर्ताहरुको बचत फिर्ता गराउने र सवल सहकारीमार्फत आर्थिक सशक्तीकरण गर्ने, किसानलाई मल, बीउको सुलभ उपलब्धता गराउने र उत्पादनको उचित बजार मूल्य सुनिश्चित गर्दै ‘किसानको मूल्यमा उपभोक्तालाई ताजा नेपाली उत्पादन’ पु¥याउने, गाउँमै सहरको सुविधा पु¥याउने, सुरक्षित सडकको विकास गर्ने र जलविद्युतलाई आर्थिक आर्जनको मुख्य स्रोत बनाउने योजना उनीहरुले अघि सारेका छन् ।
एमालेले स्थिरता, सुशासन र मध्यवर्ती क्षेत्रको समस्या हल गर्ने
नेकपा एमालेका मकवानपुर–१ मा रामेश्वर राना र मकवानपुर–२ मा महेश कुमार बर्तौला उम्मेदवार रहेका छन् । उनीहरुले राष्ट्रिय स्वाधीनता र स्थिरतालाई मुख्य एजेन्डा बनाएका छन् ।
हेटौंडा बजारको व्यवस्थित विकाससँगै ग्रामिण सडकको स्तरोन्नतिका लागि गुरुयोजना तयार गर्ने उनीहरुले योजना बनाएका छन् । मध्यवर्ती क्षेत्रको समस्या हल गर्ने, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन र मध्यवर्ती क्षेत्रको सिमाना हेरफेरको विषय प्राथमिकताका साथ समावेश गरिएको छ । ‘एक पालिका–एक आवासीय विद्यालय’ र ‘खोरेतमुक्त मकवानपुर’ मौलिक कार्यक्रमसहित उनीहरुको प्रतिबद्धतामा उल्लेख छ ।
मनहरीमा मदन भण्डारी क्षेत्रीय रंगशाला निर्माणको योजना अघि सारेका छन् । हेटौँडा र मयूरधाप औद्योगिक क्षेत्रको विस्तार, सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुदृढीकरण, सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचनाबाट युवालाई सचेत गर्ने योजनाहरु एमालेले लिएको छ ।
नेकपाको ‘ग्रेटर हेटौँडा’ र महानगरको भिजन
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट मकवानपुर–१ मा विजय गौतम र मकवानपुर–२ मा लवशेर विष्ट उम्मेदवार रहेका छन् । उनीहरुले सुशासन र पारदर्शिता सहितको सेवा प्रवाहलाई प्राथमिकताका साथ प्रतिबद्धतापत्रमा समावेश गरेका छन् ।
पूर्वाधार विकास, उद्यमशीलताका लागि सीप तथा पर्यटन क्षेत्रको विकासमा प्रविधिको प्रयोग जस्ता योजनाहरु उनीहरुले अघि सारेका छन् । हेटौँडाको दीर्घकालीन विकासका लागि ‘ग्रेटर हेटौँडा चक्रपथ’ र हेटौँडालाई महानगरपालिका बनाउने उनीहरुको योजना रहेको छ । नदी करिडोर निर्माण, राजमार्ग विस्तारका पीडितलाई उचित मुआब्जा र ‘एक सामुदायिक वन, एक उद्यम’ जस्ता नवीन एजेन्डाहरु आफ्नो प्रतिबद्धता पत्रमा समेटेका छन् ।
थाहा नगरपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिकाको पर्यटन विकासका लागि गुरुयोजना तयार गर्ने, कृषिमा औद्योगिक तथा आधुनिकीकरणसहित उत्पादन वृद्धिका लागि कार्यक्रम तयार गर्ने जस्ता कार्यक्रम उनीहरुको प्रतिबद्धतामा समावेश रहेको छ । हेटौँडा तथा मयूरधाप औद्योगिक क्षेत्र विस्तार, साना र घरेलु उद्योग प्रवद्र्धन, युवालाई सहुलियत ऋणमार्फत उद्यमशीलता विकास, ऐतिहासिक मकवानपुरगढी दरबार संरक्षण, गुणस्तरीय सामुदायिक विद्यालय र प्राविधिक शिक्षा केन्द्र स्थापना गर्ने, गाउँपालिकास्तरमा सुविधासम्पन्न स्वास्थ्य केन्द्र, आमा–बाल तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम, प्राकृतिक स्रोत संरक्षण र बाढी–पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना, चुरे संरक्षण, हरित ऊर्जा प्रवद्र्धन र ‘एक सामुदायिक वन, एक उद्यम’ कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता नेकपाका उम्मेदवारको रहेको छ ।
रास्वपाको डिजिटल सुशासन र स्मार्ट सिटी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मकवानपुर–१ मा प्रकाश गौतम र मकवानपुर–२ मा प्रशान्त उप्रेती उम्मेदवार रहेका छन् । उनीहरुले ‘सुशासन, समुन्नति र समृद्धि’ को नारासहित डिजिटल सुशासनमा जोड दिएका छन् । हेटौंडा बजार क्षेत्रको व्यवस्थित विकास, पर्यवरणीय अवधारणा सहितको विकासमा उनीहरुको जोड रहेको छ ।
भूमिहीन, अव्यवस्थित बसोबासी र पुर्जा नभएका जग्गाको समस्यालाई स्थायी रूपमा समाधान गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ भने शिक्षा क्षेत्रमा ‘सीप/रोजगारी’ को अवधारणा ‘पढ्दै कमाउँदै’ मोडल र वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप उपयोग गर्ने, प्राविधिक तथा डिजिटल शिक्षाको विस्तार र प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने प्रतिवद्धता रहेको छ । हेटौँडा बजार विस्तार, चित्लाङ–दामन–मार्खु–राक्सिराङ–मनहरी एकीकृत पर्यटन कोरिडोर र हेटौँडा आसपासलाई ‘स्मार्ट सिटी’ बनाउने संकल्प उनीहरुको रहेको छ ।
स्थानीय संस्कृति (चेपाङ, तामाङ लगायत) मा आधारित पर्यटनलाई बढावा दिने योजना अघि सार्नुभएको छ । कृषि क्षेत्रमा बीउ, मल, सिँचाइ र बजारको सुनिश्चितता गर्दै कृषिलाई आधुनिकीकरण गर्ने, सरकारी सेवालाई अनलाइनमार्फत पारदर्शी बनाउने, सार्वजनिक खरिद र कर प्रणालीमा सुधार गर्ने, वन्यजन्तु र मानवबीचको द्वन्द्व समाधानका लागि बीमा र सुरक्षात्मक पूर्वाधारको व्यवस्था गर्ने, सुरक्षित वैदेशिक रोजगारीका लागि कडा नीति नियम बनाउने र युवाहरूलाई खेलकुदका माध्यमबाट अनुशासन र नेतृत्व विकासमा जोड्ने, बाढी, पहिरो र भू–क्षय नियन्त्रणका साथै चट्याङको जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति मार्फत प्रविधि अध्ययनमा जोड दिने प्रतिवद्धता व्यक्त गरिएको छ ।
