हेटौँडा : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा उम्मेदवारी दर्ता गराएका मध्ये ४० जनाले बैंक खाता खोलेका छन् । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा स्वतन्त्रसहित ४४ जनाले उम्मेदवारी दिएका मध्ये ४ जनाले खाता खोल्न बाँकी रहेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
सहायक निर्वाचन हरि ढकालका अनुसार ४४ जना उम्मेदवार मध्ये श्रम संस्कृति पार्टीका उम्मेदवार र एकजना स्वतन्त्र उम्मेदवारले सिफारिस नै लिन बाँकी रहेको छ । हालसम्म ४० जनाले खाता खोल्नु भएको र सबै उम्मेदवारलाई टेलिफोन गरी खाता खोल्न आग्रह गरिएको ढकालले बताए । मकवानपुर–१ मा २३ जना र मकवानपुर–२ मा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सो मध्ये क्षेत्र नम्बर २ बाट श्रम संस्कृति पार्टीका उम्मेदवार युनिश लामा स्याङ्तान र स्वतन्त्र उम्मेदवार सीतामाया बलले सिफारिस लिन बाँकी रहेको उनले बताए । मकवानपुर–१ का स्वतन्त्र उम्मेदवार सुशीला सुवेदी र राकेश कुमार शर्माले बैंक खाता खोल्न बाँकी रहेको उनले बताए ।
‘हामीले बाँकी रहनु भएकालाई पनि खाता खोल्न भनेका छौँ । कतिपय उम्मेदवारले केन्द्रबाटै खर्च हुने भन्नु भएको र कतिपयले भने खाता खोल्ने प्रक्रियामा नै रहेको जवाफ दिनु भएको छ ।’ ढकालले भने । निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसारका लागि प्राप्त हुने स्वेच्छिक आर्थिक सहयोगको रकम र त्यसको प्रचारप्रसारका लागि गर्ने खर्चलाई मितव्ययी, पारदर्शी बनाई निर्वाचनमा सुशासन कायम गर्न बैकिङ खाता खोल्नुपर्ने प्रावधान ल्याएको हो ।
