हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुली र धादिङ जिल्लामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सिन्धुलीको फिक्कल गाउँपालिका–२ रातामाटास्थित वाक्सु खोलामा एक युवक मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा फिक्कल गाउँपालिका–२ बबला बस्ने २७ वर्षीय भक्त बहादुर सुनुवार रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार साँझ ५ बजेको समयमा खोलाको किनारमा पानीमा सुनुवार मृत अवस्थामा फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ डावाङमा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीया गंगा चेपाङ रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार साँझ ५ बजेर ३० मिनेटको समयमा गंगा घाँस काट्न जाने क्रममा घर नजिकैको गोरेटो बाटोबाट एक सय मिटर तल भिरमा लडेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारकै क्रममा सोमबार उनलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
धादिङको धुनिवेशी नगरपालिका–९ सिक्रेखोलास्थित त्रिभुवन राजपथमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सोमबार बिहान ३ बजेको समयमा मलेखुबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ४६५४ नम्बरको सिमेन्ट लोड गरिएको ट्रक आफैं अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर ट्रक चालक काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–भकुण्डेबेशी घर भई हाल काठमाडौं बस्दै आएका ३५ वर्षीय श्याम पौडेल, ट्रकमा सवार धादिङ मलेखु बस्ने ३२ वर्षीया गोमा दनाई र उनका छोरा ९ वर्षीय वसिब मगर घाइते भएका थिए । घाइते बालकलार्ई उपचारकाल लागि अल्फामेट मेडिकल लगिएको थियो । सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । चालक पौडेललाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौं पठाइएको थियो । उपचारको क्रममा बिहान ८ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । गोमाको उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
