Home मुख्य समाचार मकवानपुरमा मदिरा र डिजे पूर्ण प्रतिबन्ध, घरभित्रै होली मनाउन प्रजिअ अधिकारीको आग्रह

मकवानपुरमा मदिरा र डिजे पूर्ण प्रतिबन्ध, घरभित्रै होली मनाउन प्रजिअ अधिकारीको आग्रह

जिल्ला प्रशासन कार्यालय मकवानपुर ।

हेटौँडा : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै फागु पुर्णिमा (होली पर्व) मा मदिरा र डिजे पूर्णरुपमा प्रतिवन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्वाचनको पूर्वसन्ध्या तथा निर्वाचनको मौन अवधिमा परेको होली पर्वमा भिडभाड तथा मदिरा तथा डिजे पूर्णरुपमा बन्देज गरेको हो ।

निर्वाचनका कारण सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै संयमित र अनुशासित भएर मनाउन प्रशासनले आग्रह गरेका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बसन्त अधिकारीले निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा होलीका नाममा हुन सक्ने उच्छृङ्खल गतिविधिले निर्वाचन प्रक्रियालाई असर पार्न सक्ने भन्दै प्रशासनले कडा सुरक्षा रणनीति अपनाएको बताए । प्रजिअ अधिकारीका अनुसार निर्वाचन आयोग र गृह मन्त्रालयको निर्देशन पालना गर्दै जिल्लाभर मदिराजन्य पदार्थको बिक्री–वितरण, सेवन र ओसारपसारमा पूर्ण प्रतिवन्ध लगाइएको छ ।

‘मदिराका कारण झगडा र दुर्घटना बढ्ने हुनाले यसलाई नियन्त्रण गर्न आजैबाट प्रहरी परिचालन गरिएको छ ।’ उनले भने, ‘सार्वजनिक स्थानमा ठूलो आवाजमा डिजे बजाउन, पानीका फोहोरा फाल्न र ठुलो समूहमा जम्मा भएर होहल्ला गर्न समेत रोक लगाइएको छ । गत वर्षहरुमा हेटौंडाको संगमचोक, बुद्धचोक, सीमाचोक, स्कूलरोड, हुप्रचौर लगायतका स्थानमा हुने भीडभाडलाई यसपटक पूर्णरुपमा नियन्त्रण गरिनेछ ।’

होली मनाउँदा कुनै पनि राजनीतिक दलको चुनाव चिन्ह अंकित टिसर्ट, टोपी वा झण्डा प्रयोग नगर्न उनले सचेत गराएका छन् । निर्वाचन आचारसंहिताले सो क्रियाकलापलाई निषेध गरेकाले होली खेल्दा राजनीतिक संकेतहरु प्रयोग गरे कारबाही गरिने प्रजिअ अधिकारीले चेतावनी दिए ।

होलीको दिन हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि सवारी साधनको प्रयोगमा पनि कडाइ गरिने उनको भनाई छ । विशेषगरी मोटरसाइकलमा तीन जना चढ्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र तीव्र गतिमा हुइँक्याउनेहरुलाई कारवाही हुने उनले बताए । प्रजिअ अधिकारीले यस वर्षको होली सकभर आ–आफ्नो घरको कम्पाउण्डभित्र परिवारसँग मात्र मनाउन अनुरोध गरेका छन् ।

‘अहिले हाम्रो मुख्य उत्सव भनेकै निर्वाचन हो । पहिले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गरौँ । रमाइलो र पिकनिक त चुनावपछि पनि गर्न सकिन्छ । उच्छृङ्खल गतिविधि गर्ने र प्रशासनको आग्रहलाई अवज्ञा गर्ने व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाइने छ ।’ उनले भने ।

Exit mobile version