Home मुख्य समाचार माघ महिनामा हेटौँडा अस्पतालमा २१ जना किशोरी आमा बने

माघ महिनामा हेटौँडा अस्पतालमा २१ जना किशोरी आमा बने

हेटौँडा : हेटौंडा अस्पतालमा माघ महिनामा २१ जना २० बर्षमुनिका किशोरीहरु आमा बनेका छन् । यसअवधिमा अस्पतालमा १ सय ५५ जना महिलाहरुले प्रसुति सेवा प्राप्त गरेकोमा २१ जना २० वर्षमुनिका किशोरीहरु रहेका हुन् । यसअघि हेटौँडा अस्पतालको मातृशिशु शाखाबाट गत साउनदेखि पुस मसान्तसम्म १ हजार ६ सय ५६ जनाले प्रसुती सेवा लिएकोमा १ सय १२ जना २० वर्षभन्दा कम उमेरका किशोरीहरु आमा बनेका थिए ।

मकवानपुरको मनहरी, भीमफेदी, बागमती, बकैया गाउँपलिकालगायत हेटौँडा उपमहानगरपालिकाका केही वडाहरुबाट समेत किशोरी आमाहरु प्रसुति सेवा लिन आउने गरेको हेटौँडा अस्पतालको मातृशिशु शाखाका स्वास्थ्यकर्मीले जनाएका छन् । २० वर्ष उमेर नपुगी आमा बन्दा आमा र शिशु दुबैको स्वास्थ्य जोखिममा रहने स्वास्थ्यकर्मीको भनाइ छ । आमाको प्रजनन् अंग विकास भइनसकेकोले प्रसुती सेवासमेत जोखिम हुनसक्ने, सानो उमेरमा गर्भवती हुँदा शिशु पूर्ण परिपक्व नभई जन्मने सम्भावना रहने र समय नपुगी जन्मेको शिशुलाई विभिन्न संक्रमणको समेत खतरा रहने चिकित्सकहरुले सञ्चारमाध्यमहरु मार्फत चेतावनी दिँदै आइरहेका छन् । नेपालको कानुनले २० वर्ष उमेर पूरा नभई विवाह गर्नुलाई दण्डनीय अपराध माने पनि २० वर्ष भन्दा कम उमेरमा विवाह र सन्तान जन्माउने क्रम रोकिएको छैन ।

Exit mobile version