Home मुख्य समाचार चण्डिका माविमा आधारभूत र एसईई तयारी परीक्षाको नतिजा सार्वजनिक

चण्डिका माविमा आधारभूत र एसईई तयारी परीक्षाको नतिजा सार्वजनिक

नतीजा सार्वजनिक तथा अभिभावकसँग अन्तरक्रियामा सहभागी अभिभावकहरु ।

हेटौँडा : मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीस्थित चण्डिका माध्यमिक विद्यालयले आधारभूत र एसईई तयारी परीक्षाको नतिजा सार्वजनिक तथा अभिभावकसँग अन्तरक्रिया गरेको छ । शुक्रबार विद्यालयले आधारभूत तह र एसईई दिने विद्यार्थीको नतिजा सार्वजनिक गरेको विद्यालयका प्रधानाध्यापक कमल फुयालले जानकारी दिनुभयो ।

एसईई तयारी परीक्षामा ३० जना विद्यार्थी र आधारभूत तहको तयारी परीक्षामा १४ जना विद्यार्थी सहभागी भएका थिए । एसईई तयारी परीक्षामा सहभागी विद्यार्थीमध्ये १० जनामात्रै ग्रेडेड भएका छन् । यस्तै, आधारभूत तहको परीक्षामा ६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

एसईईमा सहभागी हुने विद्यार्थीलाई बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्यालयमा राखेर अतिरिक्त कक्षा सञ्चालन गरिरहेको छ । ८ कक्षाको परीक्षा पालिकाको आधारभूत परीक्षा समितिले निर्धारण गरेपश्चात हुनेछ भने अन्य कक्षाहरूको परीक्षा चैत्र ८ गतेदेखि सुरु हुनेछ । विद्यालयले ८, ९ र १० कक्षाका विद्यार्थीहरूलाई अतिरिक्त कक्षा सञ्चालन गरेको छ । पालिकाले अतिरिक्त कक्षा सञ्चालनका लागि बजेट जुटाएको छ भने बाँकी विद्यालय आफैँले गरिरहेको उहाँको भनाइ छ ।

मकवानपुरगढी गाउँपालिकाका केही विद्यालयले एसईई तयारीका लागि बन्द प्रशिक्षणमा राखेर पठनपाठन गराइरहेका बेला चण्डिका माविले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म पठनपाठन गराएको छ । विद्यालयमा होस्टेल अभाव र अभिभावकहरूको आर्थिक अवस्था कमजोर भएका कारण विद्यार्थीहरूलाई बन्द प्रशिक्षणमा नराखिएको फुयालले बताउनुभयो । अभिभावकसँगको अन्तरक्रियाको क्रममा विद्यार्थीहरुलाई घरमा नै राखेर पठपाठन गराउने सल्लाह भएको प्रधानाध्यापक फुयालले बताउनुभयो । गत वर्ष पनि विद्यालयले अतिरिक्त कक्षामात्रै सञ्चालन गरेको थियो ।

विद्यालयले गतवर्षको तुलनामा एसईईको नतिजा यस वर्ष राम्रो आउने अपेक्षा राखेको प्रधानाध्यापक फुयालले बताउनुभयो । गत वर्षको एसईईमा ४५ जना विद्यार्थी सहभागी भएकामा ११ जना विद्यार्थीमात्रै ग्रेडेड भएका थिए । यस वर्ष गत वर्षको तुलनामा राम्रो नतिजा ल्याउने उहाँको भनाइ छ । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल ४०६ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

Exit mobile version