हेटौँडा : हेटौँडामा जीवन बचाउने वृहत् रक्तदान कार्यक्रम भएको छ । बिहीबार भएको रक्तदान कार्यक्रममा २ सय जनाले रक्तदान गरेका छन् । विश्वव्यापी कल्याणकारी संस्था वी लभ यू फाउन्डेसनद्वारा नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाको सभाहलमा ८८१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम भएको थियो ।
मानिसहरूलाई रक्तदानमा निरन्तर रुचि राखेर सहभागी हुनलाई प्रोत्साहित गर्ने र जीवन बाँड्नुको महत्व बुझाउन सो कार्यक्रमको आयोजना गरिएको थियो । वी लभ यूको ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ एक जनाको रक्तदान दुई जना, चार जना हुँदै फैलिएर आदानप्रदानको सद्गुण चक्र निर्माण गर्ने उद्देश्य रहेको विश्वव्यापी जीवन बचाउने अभियान हो ।
कोरियाबाट विगत २० वर्षदेखि विश्वका ठाउँ–ठाउँमा आयोजना हुँदै आएको यो कार्यक्रम रगतको खाँचो परेका छिमेकीहरूका लागि बलियो सहारा बनेको छ । गत वर्षसम्म ६४ देशहरूबाट एक लाख ३७ हजार जना सहभागी भएर ६२ हजार जनाभन्दा बढीले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले मानवीय सेवाले ओतप्रोत भएर जीवनको सबैभन्दा ठूलो दान रक्तदान रहेको बताउनुभयो । समान माया दिने आमाजस्तै मानव हितका निम्ति विभिन्न क्षेत्रमा कार्य गरिरहनुभएहरूसँग बागमती प्रदेश सरकारले सहकार्य गर्ने बताउनुभयो ।
वी लभ यूले नेपालमा विभिन्न स्वयम्सेवा गतिविधिहरूमार्फत स्थानीय समुदायमा योगदान पु¥याउँदै आएको छ । यसले विद्यालयहरूमा टिभी, स्कूल झोला, लुगा र पंखा सहयोग, स्कूल साइनबोर्ड जडान तथा घेराबार मर्मतजस्ता कार्यहरू गरेर भावी पुस्तालाई पनि सक्रियरूपमा सहयोग गरेको छ । त्यसैगरी वातावरण कल्याण गतिविधि रहेको ‘क्लिक वल्र्ड अभियान’ र वृक्षरोपण गरेर हरितगृह ग्याँस न्यूनीकरण गर्ने ‘आमाको उद्यान’ परियोजनामार्फत बस्नको लागि दिगो ठाउँ बनाउँदै राष्ट्रिय विपद्लाई जित्ने कार्यमा पनि सरिक भएको छ ।
