हेटौँडा : मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो सदस्य व्यवसायीको निधन भएपछि उनका परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ । उद्योग वाणिज्य संघ व्यवसायी हितकोषद्वारा मनहरी निवासी स्वर्गीय नरेश साह सोनारको परिवारलाई २ लाख रुपैयाँ प्रदान गरिएको हो ।
स्वर्गीय सोनारले २०७१ साल असोज २४ गते उद्योग वाणिज्य (घरेलु) मा र २०७१ कार्तिक १६ गते मकवानपुर उद्योग वाणिज्य संघ हेटौँडामा ‘खुश्वु प्लाष्टिक उद्योग’ दर्ता गराई व्यवसाय सञ्चालन गर्दै आएका थिए । गत पुस २० गते सोनारको निधन भएको थियो ।
संघले सञ्चालन गरेको व्यवसायी हितकोषमा वार्षिक १ सय ८० रुपैयाँ जम्मा गरेबापत कुनै पनि सदस्य व्यवसायी (प्रोप्राइटर) को मृत्यु भएमा संघले निजको परिवारलाई २ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था रहेको छ । सहयोग रकम मंगलबार मृतककी श्रीमती लक्ष्मीनिया कुमारी देवीलाई हस्तान्तरण गरिएको संघले जनाएको छ ।
