हेटौँडा : ३ महिनाअघिदेखि सम्पर्कविहिन बनेकी टेरिसा राई र सुदर्शन राईलाई प्रहरीले भेटेको छ । प्रहरीले टेरिसा र सुदर्शनलाई ललितपुर जिल्लाको धापाखेलबाट शुक्रबार साँझ नियन्त्रणमा लिएको जनाएको छ । लामो समय प्रहरी र परिवारसँग सम्पर्कविहिन भएकी टेरिसा र सुदर्शनलाई भेट्टाउन अन्ततः प्रहरी सफल भएको हो ।
हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशन एकेडेमीमा कक्षा–९ मा अध्ययनरत १३ वर्षीया टेरिसा गत मंसिर २१ गते साँझ ५ बजेको समयमा आफ्नै फुपुको छोरा २९ वर्षीय सुदर्शनको साथमा हिँडेपछि दुबैजना सम्पर्कविहिन थिए । प्रहरीले सुरुवातदेखि नै खोजीको प्रयास गरे पनि उनीहरुलाई खोजी गर्न सकेको थिएन । एक साताअघि टेरिसाले प्रयोग गरेको नयाँ मोवाइल नम्बर प्राप्त गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार ४ दिनको प्रयासपछि टेरिसा र सुदर्शनलाई नियन्त्रणमा लिन सफल भएको हो । मकवानपुर प्रहरीको अनुसन्धान टोलीले टेरिसा र सुदर्शनलाई मोबाइल फोन मार्फत उनीहरु भएको स्थान पहिचान गरेपछि ललितपुर प्रहरीको सहयोगमा शुक्रबार नियन्त्रणमा लिन सफल भएको हो । प्रहरीले दुबैजनालाई मकवानपुर ल्याउने तयारी गरेको छ ।
प्रहरीले कुरियर सेवा सञ्चालकको रुपमा टेरिसासँग सम्पर्क गरी सामान पु¥याउन जाने बहानामा सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यस्तै सुदर्शनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मंसिर २१ गते साँझ विद्यालयबाट घर फर्कने क्रममा टेरिसा सम्पर्कविहिन भएपछि अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानका क्रममा टेरिसा फुपुको छोरासँग गएको भन्ने यकिन गरे पनि टेरिसा र सुदर्शनलाई नियन्त्रणमा लिन सकेको थिएन । सुदर्शन लागूऔषध दूव्र्यसन समेत भएको तथ्य सार्वजनिक भएपछि टेरिसाका परिवार चिन्तित थिए ।
टेरिसाको खोजीका लागि अधिकारवादी संघ, संस्थाले पनि पहल गरेको थियो । सञ्चार माध्यममा पनि प्रहरी प्रशासनको आलोचना भइरहेको थियो ।











