Home मुख्य समाचार उम्मेदवार जिताउन अग्रसर दलका शुभेच्छुक संगठन

उम्मेदवार जिताउन अग्रसर दलका शुभेच्छुक संगठन

हेटौँडा:दलका शुभेच्छुक संगठनहरु निर्वाचनमा उम्मेदवारलाई जिताउन यतिबेला भेला र उम्मेद्वारसँग परिचय गराउने अभियानमा छन् । नेकपा एमालेको शुभेच्छुक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरले शनिबार आयोजना गरेको एक शैक्षिक अन्तरक्रिया कार्यक्रममा शिक्षक नेताहरूले नेकपा एमालेका उम्मेदवारहरूलाई जिताउन खुला आव्हान गरेका छन् ।

संगठनका केन्द्रीय उपमहासचिव श्रीराम दहालले विधानमा नलेखिए पनि आफूहरू एमालेका कार्यकर्ता भएको स्वीकार गर्दै पार्टीका उम्मेदवारलाई जिताउनु आफुहरुको दायित्व भएको बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी घोषणापत्रको आलोचना गर्दै रास्वपाले जेल तोडेर भागेकाहरूलाई टिकट बाँडेको आरोप लगाउनुभयो । अब पैसाका भरमा नभई एजेण्डाका भरमा चुनाव जित्ने संस्कार स्थापित गर्ने उहाँको भनाइ छ । उहाँले शिक्षकहरूलाई केवल ऐन मात्र नभई अधिकार सुनिश्चित गर्ने कानुन चाहिएकोमा जोड दिनुभयो ।

त्यसैगरी हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलले स्वतन्त्र भनेर सरकारमा गएकाहरू अहिले पार्टीकै झण्डा बोकेर चुनावमा आएको बताउनुभयो । एमाले सरकारमा रहँदा नै शिक्षकको तलब बढेको र अब शिक्षकहरूले त्यो गुन तिर्ने बेला आएको उहाँको भनाइ छ । उहाँले एमालेलाई हात्तीको संज्ञा दिँदै अन्धाहरूले हात्ती छामे जस्तो गरी एमालेको व्याख्या भइरहेको टिप्पणी गर्नुभयो । गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनपछि नेकपा एमाले र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली माथि भइरहेको एकोहोरो आक्रमणलाई धमिलो पानीमा माछा मार्ने काम भइरहेको सिग्देलले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार रामेश्वर राना मगरले अभिभावकको सम्मान नहुने घर र मुलुक अघि बढ्न नसक्ने बताउनुभयो । शिक्षकहरूलाई मर्यादित विद्यार्थी उत्पादन गर्न आग्रह गर्नुहुँदै रानाले भन्नुभयो, ‘हामी खरानी बनाउन खोजिएको नेपाली अस्तित्व बचाएर नयाँ नेपाल बनाउन सक्छौँ । हामी पैसा ओछ्याएर होइन, एजेण्डा लिएर जनताको अगाडि राखी निर्वाचन जित्दैछौँ ।’

नेकपा एमाले मकवानपुरका कार्यवाहक अध्यक्ष हिदम लामाले नेपाल र नेपाली राष्ट्रियता जोगाउन एमालेलाई जिताउन आवश्यक रहेको बताउनुभयो । नयाँ शक्तिहरूप्रति सतर्क गराउँदै चिनी पुरानो भयो भनेर जनताले विष खान खोजिरहेको उहाँले बताउनुभयो । संगठनका जिल्ला अध्यक्ष मुकुन्द न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका विभिन्न विद्यालयमा कार्यरत निजी तथा सामुदायिक शिक्षकको समस्या समाधानका बारेमा छलफल भएको थियो ।

Exit mobile version