Home मुख्य समाचार मकवानपुरमा स्कर्टिङसहित गाँजा तस्करी : २ जनालाई प्रहरीले पक्रियो

मकवानपुरमा स्कर्टिङसहित गाँजा तस्करी : २ जनालाई प्रहरीले पक्रियो

प्रहरीले नियन्त्रणमा लिएको बोलेरो जीप र बरामद भएको गाँजा ।

हेटौँडा : प्रतिबन्धित लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मंगलबार राती साढे १२ बजेको समयमा प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले भीमफेदी–२, चुनियाँबाट लु १ च २१५२ नम्बरको बोलेरो जीपमा ४ सय ३८ किलो ४३ ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।

हेटौँडा–नागढुंगा त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिका–२, चुनियाँमा मोटरसाइकलको स्कर्टिङसहित बोलेरो जीपमा गाँजा तस्करी भइरहेको अवस्थामा प्रहरीले स्कर्टिङ गर्ने बा प्र ०३-००५ प.४५७६ नम्बरको मोटरसाईकल र मोटरसाइकल चालकसहित बोलेरो जीप र जीप चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीका अनुसार करिब ३ सय मिटरको दूरीमा मोटरसाइकलले अगाडिबाट स्कर्टिङ गरिरहेको र पछाडि गाँजासहितको बोलेरो जीपलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।

प्रहरीले बोलेरो जीप चालक मकवानपुरको कैलाश गाउँपालिका–१० का २७ वर्षीय राम बहादुर मोक्तान र स्कर्टिङ गर्ने मोटरसाईकल चालक कैलाश–१० कै १९ वर्षीय अनिल थिङलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version