हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरी रामडाँडामा माछा मार्ने क्रममा प्रेसरले हानेर बेहोस भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय मण्डल प्रजा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मंगलबार बिहान ११ बजेर ३० मिनेटको समयमा ४२ वर्षीय रामबहादुर तामाङको पोखरीमा प्रजाले जाल हानी माछा निकाल्ने क्रममा प्रेसर बढेर एक्कासी बेहोस भएका थिए । उनलाई उपचारका लागि तत्कालै चितवनस्थित भरतपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा दिउँसो १ बजेको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात् शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










