शिक्षकको सुझाव
सामाजिक अध्ययन विषय विद्यालयमा माध्यमिक तहका लागि अत्यन्तै महत्वपूर्ण विषय हो, जसले विद्यार्थीलाई समाज, देश, राजनीति, भूगोल, अर्थशास्त्र, इतिहास, संस्कृति र असल नागरिकको व्यावहारिक ज्ञान प्रदान गर्छ । यो विषय केवल परीक्षा पास गर्नका लागि मात्रै होइन; जीवनमा सचेत, जिम्मेवार र सक्रिय र असल नागरिक बन्नका लागि पनि सामाजिक विषयको अध्ययन अनिवार्य छ । त्यसैले सामाजिक विषयलाई गहिरो रूपमा बुझ्न र परीक्षामा उत्कृष्ट ग्रेड ल्याउन विद्यार्थीले योजनाबद्ध, अभ्यासमुखी र विश्लेषणात्मक अध्ययन गर्नुपर्छ । तल केही उपयोगी सुझावहरू प्रस्तुत गरिएको छ ।
– सामाजिक अध्ययन विषयका विभिन्न एकाइहरू भूगोल, इतिहास, नागरिक शिक्षा, अर्थशास्त्र, समाजशास्त्र तथ्याङ्कशास्त्र आदि फरक–फरक प्रकृतिका छन् । प्रत्येक एकाइका लागि अलग–अलग अध्ययन योजना बनाउनुपर्छ । उदाहरणका लागि, भूगोलमा नक्सा अभ्यास, इतिहासमा घटनाको क्रम बुझ्ने, र नागरिक शिक्षामा अवधारणात्मक सोच विकास गर्नुपर्छ । दैनिक रूपमा निश्चित समय सामाजिक विषयका लागि छुट्याउनुहोस् र पुनरावृत्ति गर्नुहोस् ।
– सामाजिक अध्ययन ‘घोकेर’ सिक्ने होइन, ‘बुझेर’ सिक्ने विषय हो । प्रत्येक विषयको कारण, प्रभाव र नतिजा बुझ्ने प्रयास गर्नुहोस् । विषयमा समावेश गरिएका समस्याहरूलाई समाजको गतिविधिमा जोडेर गहिरो रुपमा बुझ्ने र त्यसका समाधानका लागि भैरहेका उपायहरू बुझ्ने र विश्लेषण गर्ने प्रयास गर्नुहोस् । जसले गहिरो समझ र ज्ञानको विकास हुन्छ ।
– विद्यालयमा शिक्षकले पढाएको कुरा ध्यानपूर्वक सुन्नुहोस् र आफ्नै भाषामा छोटो नोट्स तयार गर्नुहोस् । त्यस्तो नोट तयार गर्दा पाठ्यपुस्तक र विशिष्टीकरण तालिकालाई बुझेर तयार गर्नुहोस् । हप्तामा कम्तीमा एकचोटि सबै नोट्स पुनरावृत्ति गर्नुहोस् ।
– हाम्रो पृथ्वी अध्ययन गर्दा नक्सा अभ्यास अत्यावश्यक हुन्छ । यो अनिवार्य जान्नुपर्ने विषयवस्तु हो । यो परीक्षाका लागि पनि अति महत्वपूर्ण हुन्छ । नेपालको नक्सामा प्रदेश, धार्मिक क्षेत्र, ताल, वन्यजन्तु आरक्षण, प्रमुख सहर, नदी, हिमाल र सिमाना चिन्ने अभ्यास गर्नुपर्छ । यसका लागि अभ्यास र दृश्यात्मक अध्ययनले दीर्घकालीन सम्झना बलियो बनाउँछ ।
– परीक्षामा सोधिने प्रश्नहरूको ढाँचा बुझ्न विगतका वर्षका प्रश्नपत्रहरू अध्ययन गर्नुहोस् । तिनका आधारमा अनुमानित प्रश्नहरू लेख्ने र आफैं उत्तर लेख्ने अभ्यास गर्नुहोस् ।
– सामाजिक विषयको परीक्षामा सामान्यतया तीन प्रकारका प्रश्नहरू हुन्छन्, अति छोटो उत्तर दिने प्रश्नहरू, छोटो उत्तर दिने प्रश्नहरू र लामो उत्तर दिने प्रश्नहरू । यसमा अति छोटो उत्तर दिने प्रश्नका लागि दुई लाइनदेखि चार लाइनसम्मको उत्तरहरू तयार गर्ने गर्नुपर्छ । छोटो उत्तर दिने प्रश्नहरूका लागि प्रश्नअनुसार उत्तरहरूलाई बुँदागत रुपमा उल्लेख गर्ने र त्यसको निष्कर्ष पनि लेख्ने यसैगरी लामो उत्तर लेख्दा सुरुमा परिचय, बीचमा मुख्य विचार र अन्त्यमा निष्कर्ष राख्ने अभ्यास गर्नुहोस् । हामीले दिने जवाफ प्रश्नले मागेको विषयवस्तुहरू समेटेको स्पष्ट हुनुपर्दछ ।
– अध्ययनका लागि समय व्यवस्थापन अत्यन्त महत्वपूर्ण हुन्छ । पढाइ, लेखाइ र विश्राम बीच सन्तुलन राख्नुहोस् । दैनिक तालिका बनाएर समयअनुसार विषयहरू पढ्दा तनाव घट्छ र आत्मविश्वास बढ्छ ।
– परीक्षामा अति छोटो उत्तर ११ वटा आउँछ जसका लागि हामीसँग लगभग २५ मिनेट समय रहन्छ । छोटो उत्तर दिने प्रश्नहरू नौवटा आउनेछ । जसका लागि हामीसँग १ घन्टा २० मिनेट समय रहनेछ । यसैगरी लामो प्रश्न उत्तर चारवटा आउनेछ । यसका लागि १ घन्टा समय रहनेछ । अन्त्यमा १५ मिनेट समय आफ्नो लेखाइ जाँच गर्ने, छुटेका कुनै कुराहरु छन् भने लेख्ने, उत्तरहरुलाई धर्का तानेर छुट्याउने र उत्तरलाई प्रष्ट पार्न समय छुट्याउनु पर्छ ।
– सामाजिक विषय हाम्रै समाजसँग प्रत्यक्ष सम्बन्धित छ । त्यसैले समाचारपत्र, अनलाइन माध्यम वा टेलिभिजनमार्फत देश तथा विश्वका घटनाक्रम समाचार सुन्ने र बुझ्ने बानी बसाल्नुहोस् । यसले अवधारणात्मक र विश्लेषणात्मक सोचलाई बलियो बनाउँछ, जुन परीक्षा र जीवन दुवैमा उपयोगी हुन्छ ।
– कहिलेकाहीँ साथीहरूसँग समूह बनाएर अध्ययन पनि गर्नुपर्छ यसले ज्ञान तथा बुझाइलाई फराकिलो बनाउँछ । एक–अर्कालाई प्रश्न सोध्ने, छलफल गर्ने र उत्तर बुझाउने क्रममा बुझाइ अझ गहिरो हुन्छ ।
– परीक्षाको अन्तिम तयारीमा आत्मविश्वास अति आवश्यक हुन्छ । आफ्नो तयारीमा भरोसा राख्नुहोस् र असफलताको डर नराख्नुहोस् । परीक्षामा आवश्यक सामग्रीहरु पूर्वतयारी गर्नुहोस् जसले गर्दा तपाईंको आत्मविश्वास बढ्छ र डर कम हुन्छ । ध्यान, नियमित अभ्यास र आत्मअनुशासनले सफलतामा पु¥याउँछ ।
– यसरी योजनाबद्ध अध्ययन, नियमित पुनरावृत्ति र समसामयिक ज्ञानको संयोजनले विद्यार्थीमा सामाजिक विषयप्रतिको रुचि, समझ र आत्मविश्वास बढाउँछ । परिणामस्वरूप, परीक्षामा उत्कृष्ट ग्रेड ल्याउनु सहज हुन्छ र विद्यार्थीले व्यवहारिक रूपमा पनि सचेत नागरिक बन्न सक्ने क्षमता हासिल गर्छ ।
(श्रेष्ठ हेटौँडा–४ स्थित भुटनदेवी माविको सामाजिक विषय शिक्षक हुनुहुन्छ ।)











