हेटौँडा : निर्माणाधीन काठमाण्डौ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाँडास्थित १ नम्बर पुल नजिक टुचन मेसिनको ब्रेक फेल हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मंगलबार साँझ ६ बजेको समयमा पुलको खाडल खन्ने काम सकेर टुचन मेसिनमा सवार भई माथि आउने क्रममा एक्कासी ब्रेक फेल भई करिब २१ मिटर तल खस्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–५ घर भई फास्ट ट्र्याकमा कार्यरत २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा खाडलभित्र काम गरिरहेका पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई सोही स्थानमा कार्यरत ३७ वर्षीय जुल्फे तामाङलाई माथिबाट खसेको टुचन मेसिनले ढाडमा लागेर घाइते भएका छन् । घाइते तामाङलाई उपचारका लागि काठमाडौं लगिएको छ भने उनको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।