हेटौँडा : शनिबार बोलेरोको ठक्करबाट घाइते भएको एक बच्चाको उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकामा एकजना मृत्त फेला परेका छन् ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका–१, खानेपानीको कार्यालय अगाडि खेलिरहेको अवस्थामा बोलेरोको ठक्करबाट स्थानीय कुमार श्रेष्ठको १६ महिनाको छोरा क्रिजल श्रेष्ठ घाइते भएका थिए । मन्थलीबाट खानेपानी कार्यालय हँुदै तामाकोशी नदीतर्फ जाँदै गरेकोे बा प्र ०२८ च १२७४ नम्बरको बोलेरोको ठक्करबाट श्रेष्ठ घाइते भएका थिए । मन्थली अस्पतालमा उपचारको क्रममा शनिबार बिहान सवा ११ बजेको समयमा डाक्टरले मृत्त घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । बोलेरो र बोलेरो चालक स्थानीय ३२ वर्षीय सिद्धार्थ तामाङ जिल्ला प्रहरी कार्यालय रामेछापको नियन्त्रणमा रहेको छ ।
यस्तै, काभ्रेको धुलिखेल नगरपालिका–१२, शंखुपाटी निवासी ४० वर्षीय माकुरी मानव मृत अवस्थामा फेला परेका छन् । शनिबार उनी आफू सुत्ने कोठामै मृत भेटिएको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ । उनी २०७७ साल फागुनदेखि धुलिखेलस्थित मानव कल्याण समाज सेवा घरमा बस्दै आएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मृतक माकुरी मानव प्यारालाइसिसको समस्याबाट ग्रसित रहेको खुलेको छ ।
