हेटौँडा : विज्ञान शिक्षक समाज नेपाल (स्टान) मकवानपुरको आयोजनामा मकवानपुर जिल्लाका विज्ञान शिक्षकहरूका लागि कृत्रिम बुद्धिमता (एआई) सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै शिक्षण सिकाइलाई आधुनिक र प्रभावकारी बनाउने उद्देश्यले शनिबार एकदिने तालिम सम्पन्न भएको हो ।
कार्यक्रममा रियल युनिक कम्प्युटर इन्सटिच्युटका सञ्चालक श्रवणकुमार श्रेष्ठले मुख्य प्रशिक्षकको रूपमा सहभागी शिक्षकहरुलाई तालिम प्रदान गर्नुभएको थियो । प्रशिक्षणका क्रममा उहाँले एआई भनेको के हो ? यसले कसरी काम गर्छ ? एआईका प्रकारहरू र यसको सञ्चालनमा डाटाको महत्वबारे प्रष्ट पार्नुभयो । विशेषगरी शिक्षकहरूले शिक्षण सिकाई क्रियाकलापमा एआईलाई कसरी उपयोग गर्न सक्छन् भन्ने विषयमा उहाँले प्रयोगात्मक जानकारी दिनुभयो ।
थाइल्याण्डको बैंककमा डाटा साइन्स अध्ययन गरिरहनुभएका नवीन लामाले भर्चुअल माध्यमबाट तालिममा सहभागी शिक्षकहरुलाई एआईसम्बन्धी जानकारी प्रदान गर्नुभयो । विज्ञान शिक्षक समाज मकवानपुरका अध्यक्ष भरत पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले शिक्षकहरुको पेशागत विकास गर्ने उद्देश्यले संगठन निर्माण भएको बताउनुभयो । शिक्षण पेशालाई हरेक दिन अद्यावधिक हुने पेशा भन्दै उहाँले शिक्षकहरुलाई समान्य कुराहरुमा ध्यान दिन सुझाव दिनुभयो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष एवम् भुटनदेवी एल्मुनाई (पूर्व विद्यार्थी समाज) का अध्यक्ष विष्णुगोपाल महर्जन र भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रमको समापनमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
