Home खेलकुद मकवानपुर क्याम्पसको वार्षिक खेलकुद सम्पन्न

मकवानपुर क्याम्पसको वार्षिक खेलकुद सम्पन्न

प्रतियोगिताका विजेता विद्यार्थीलाई ट्रफी हस्तान्तरण गरिँदै ।

हेटौँडा : हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको ४६ औँ वर्षिकोत्सवको अवसरमा आयोजित खेलकुद कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा आयोजित खेलकुद कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

स्ववियुले माघ १२ गतेदेखि सप्ताहव्यापी विभिन्न खेलहरु आयोजना गरेको स्ववियु अध्यक्ष प्रसिद्ध रेग्मीले बताउनु भयो । खेलकुद कार्यक्रमअन्तर्गत स्ववियुले भलिबल, गायन, नृत्य चेस, फुटबल, हाजिरीजवाफ, क्रिकेट, बास्केटबल, डोरी तान्ने, दौड लगायतका प्रतियोगिताहरु आयोजना गरेको थियो । प्रतियोगितामा क्याम्पसमा अध्ययनरत कक्षा ११ देखि स्नातक तहसम्मका विभिन्न संकायका विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजेताहरुलाई शुक्रबार समापन समारोहमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको छ । विजेता टोलीले १ वर्षका लागि अर्थात अर्को विजेता नआएसम्म क्याम्पसको आधिकारिक टिमको मान्यता पाएको र विभिन्न खेल प्रतियोगितामा क्याम्पसको प्रतिनिधित्व गर्दै सहभागी हुने अध्यक्ष रेग्मीले बताउनु भयो । स्ववियु अध्यक्ष रेग्मीको सभाध्यक्षता तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा क्याम्पस प्रमुख डा. यमबहादुर सिलवाल, सहायक क्याम्पस प्रमुख, प्राध्यापकको उपस्थिति रहेको थियो ।

Exit mobile version